विराटनगर : कोशी प्रदेशको कुनै पनि कार्यालयसँग सम्बद्ध कर्मचारीको सरुवा पैसा लेनदेनको आधारमा भएको पाइएमा कडा कारबाही गरिने मुख्यमन्त्री केदार कार्कीले चेतावनी दिएका छन् । उनले भने ‘सरुवामा पैसाको चलखेल गर्नेलाई कसैले बचाउन सक्दैन।’

खानेपानी, सिचाई तथा ऊर्जा मन्त्रालयका कर्मचारीहरूसँग छलफलमा बिहीबार मुख्यमन्त्री कार्कीले सेवा गर्न आउने कुनै पनि कर्मचारीले सरुवाको नाममा कसैलाई पैसा नदिन र दिएको वा लिएको पाइएमा कारबाही भोग्न पनि तयार रहन निर्देशन दिएका हुन् ।

उनले भने ‘कुनै कर्मचारी सरुवाको लागि कहीँ नधाउनु किनकि नियम सङ्गत ढङ्गले मात्रै सरूवा हुने परिपाटी बसाउनु पर्छ ।’

सांसदहरूले दिने चिटकै योजनामा अहिले सम्म सबै कर्मचारी अल्मलिएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले अब सम्पूर्ण ऊर्जा, बुद्धि, ज्ञान लगाएर प्रदेशको तत्कालीन र दीर्घकालीन योजनाको काममा सबै कर्मचारी लाग्नु पर्ने बताए ।

उनले भने, “काठमाण्डौं विश्वविद्यालयसँग समन्वय गरेर हाइड्रोजनबाट चल्ने सवारी साधन चलाउने तिर लाग्नुहोस्, हामीले बजेट उपयोग गरेर मानव उपयोगी काम गर्न जरुरी छ ।’

मुख्यमन्त्री कार्कीले सिचाई मात्रै उपलब्ध गराउन सकिए ६ महिनामा नै मकै उत्पादन गरेर अन्य प्रदेशमा निर्यात गर्न सकिने बताउँदै छिट्टै प्रतिफल आउने योजनामा बजेट उपयोग गर्न निर्देशन दिए ।

विकास निर्माणसँगै अनुसन्धान पनि गर्दै जानुपर्ने, त्यसका लागि विश्वविद्यालय, क्याम्पससँग समन्वय गर्न निर्देश दिए । उनले मन्त्रालयको काममा मन्त्रीको कुनै अवरोध नहुने, अवरोध गर्ने जोसुकै मन्त्रीलाई मुख्यमन्त्रीले हटाउन सक्ने बताउँदै भने ‘तर तपाईँहरूलाई कसैले हटाउन सक्दैन । कर्मचारीले जानीजानी गल्ती गरेको अवस्थामा कारबाही भोग्नु पर्छ ।’

खानेपानीको समेत कार्यभार रहेकोले जबरजस्ती भए पनि खानेपानी खुवाउनै पर्छ किनकि त्यसले मानिसलाई रोग लाग्दैन, स्वास्थ्य रहन्छ र उसले काम गर्न पाउने विषय सबैलाई बुझ्न मुख्यमन्त्री कार्कीले निर्देशन दिए ।

मुख्यमन्त्री कार्कीले पानीको आवश्यकता कहाँ छ जसले कृषिको उत्पादन बढाउँछ र मानिस स्वास्थ्य रहन्छ त्यो काम तत्काल अघि बढाउन निर्देशन दिए । उनले भने ‘कानुन मिचेर काम नगरौँ, त्यसमा कुनै समस्या छ भने त्यो संशोधन गरेर काम गरौँ ।’

ऐन बनाउन बाँकी भए तत्काल निर्माण प्रक्रियामा लाग्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले सरकारले गरिबलाई धनी बाउने हो र धनीलाई संरक्षण गर्ने बताए । उनले भने, ‘सरकार मन्त्री र मुख्यमन्त्री मात्रै होइन मन्त्रालय मातहत कुचीकार पनि सरकार हो त्यही सम्झेर काम गरौँ ।’