धरान : नेपाली काँग्रेसले स्थानीय पार्टी कार्यकर्तालाई समुदायसँग सम्पर्क बढाउन देशभर एक महिने ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको शुक्रवार बसेको बैठकले उक्त अभियान सञ्चलन गर्ने निर्णय गरेको हो । अभियान पुष १६ देखी माघ १६ सम्म चल्ने छ ।
अभियानमा पार्टीको वडा तह सम्मका पार्टी कार्यकर्ता परिचालन गरी समुदाय सम्म काँग्रेसका नीति कार्यक्रमबारे संवाद गरिने र सुझाव लिइने बताइएको छ । अभियानका लागि पार्टीले केन्द्रीय समितिको तर्फबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने छ ।
बैठकले नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक पुष १२ गते बोलाउने निर्णय गरेको छ । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारको नाम सिफारिस गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभा सदस्य उम्मेदवारीको औपचारिक पत्र (टिकट) प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।
बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण पार्टीको नियमित कार्यतालिकाका कार्यक्रम स्थगित गरेकाले प्रभावित भएको कार्यतालिका अनुसार महासमितिको बैठकको मिति र तयारीका कार्यतालिका परिमार्जन गरी केन्द्रीय कार्यालयले लागु गर्ने निर्णय पनि गरेको छ ।