धरान : सुनसरीको कोशी गाउँपालिका-३ जमुवामा १२ दिन अघि मङ्सिर १९ गते भएको मोटरसाइकल दुर्घटनामा ठक्कर दिएर घाइतेलाई छोडी फरार भएका प्र १-०२-०४५ प ९९२७ नम्बरको मोटरसाइकल चालक कोशी गापा-४ का ४० वर्षीय पशुपति खेरवारलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार राजमार्गको सडकमा भएको उक्त दुर्घटनामा नाम, ठेगाना नखुलेको घाइतेको सोही दिन इनरुवा अस्पताल पुराएकोमा राती मृत्यु भएको थियो ।

ठक्कर दिएर घाइते बनाई बाटैमा छोडेर फरार मोटरसाइकल चालक खेरवारलाई गोशी गापा-६ श्रीपुर जब्दीमा लुकाई छिपाई राखिएको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो ।

ठक्करबाट मृत्यु भएका नाम थर, ठेगाना उल्लेख नभएको अन्दाजी ५०/५५ वर्षको जस्तो देखिने पुरुषको हकवाला कोही सम्पर्कमा नआएकोले प्रचार प्रसारका लागि प्रहरीले अनुरोध गरेको छ ।