विराटनगर : आबाल ब्रह्मचारी बालागुरु षडानन्दका अनुयायी शिक्षासेवी केदारप्रसाद गौतम र समाजसेवी बद्रीप्रसाद पहाडीलाई बालागुरु षडानन्द प्रतिष्ठान विराटनगरले सम्मानित गरेको छ ।

सम्मानितद्वयलाई विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले आइतबार आयोजित १८९ औँ जन्म जयन्ती समारोहमा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन । अनुयायी गौतमलाई ११ हजार १११ रुपैयाँ राशि सहित सम्मान गरिएको हो ।

उक्त अवसरमा मेयर कोइरालाले असल काम गर्नेहरू भौतिक रूपमा नरहे पनि समाजले अनन्तकालसम्म सम्झिरहने बताए । बालागुरु षडानन्दले राम्रो काम गरेकै कारण १८९ वर्षपछि पनि समाजले सम्झिरहेको उनको भनाई थियो ।

मेयर कोइरालाले षडानन्दले शिक्षा, धर्म, संस्कृति र समाज सुधारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको स्मरण उल्लेख गरे । कार्यक्रममा वडा ३ का अध्यक्ष वासुबहादुर बस्नेत, प्रतिष्ठानका अध्यक्ष कोमलकृष्ण अधिकारी, उपाध्यक्ष रमेश चापागाईँ, नेपाली काँग्रेस वडा ३ सभापति धर्मेन्द्र बानिया, षडानन्दका शोधकर्ता सुदीप अधिकारी लगायतले गुरुको योगदान बारे चर्चा गरेका थिए ।