विराटनगर : नोबेल मेडिकल कलेज अस्पतालले प्रहरी तथा कार्यरत कर्मचारी तथा उनीहरूमा आश्रित परिवारलाई उपचार शुल्कमा २५ प्रतिशत छुट दिने भएको छ ।

अस्पताल र नेपाल प्रहरी श्रीमती सङ्घ बिच सोमवार सम्झौता भएपछि उक्त सुविधा प्राप्त हुने भएको हो । सङ्घकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अध्यक्ष कुँवर र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक इन्दिरा शर्मा बरालद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्रहरीका बहालवाला कर्मचारीहरू तथा आश्रित परिवार सदस्यहरूलाई बहिरङ्ग विभागमा उपचार गराउँदा बिरामी दर्ता निःशुल्क र सबै सेवा शुल्कमा २५ प्रतिशत हुने भएको हो । बिरामी भर्ना भई उपचार गराउँदा  सबै सेवा शुल्कमा पनि २५ प्रतिशत छुट हुने सम्झौतामा उल्लेख छ ।

उपचारमा प्रयोग हुने औषधी र अन्य चिकित्साजन्य सामग्रीहरू प्रत्यारोपण, शैल्यकृया सामाग्रीहरूमा भने छुट हुँदैन । हाललाई १ वर्षको सम्झौता अवधि रहेकोमा पुन नवीकरण गर्न सकिने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा सङ्घकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरू र आश्रित परिवारहरूको स्वास्थ्य सेवामा पहुँच पुराउन नोबेल मेडिकल कलेजसँग सम्झौता गरिएको बताइन् ।

मेडिकल कलेजकी प्रबन्ध निर्देशक इन्दिरा शर्मा बरालले सामाजिक उत्तरदायित्व बहन गर्दै जनताको सुरक्षामा खटिने नेपाल प्रहरीका कर्मचारीहरूलाई उपचारमा सहुलियत उपलब्ध गराइएको बताउँदै आगामी दिनमा दुवै पक्षको समन्वय र सहकार्यमा सहुलियतमा थप गर्दै लगिने बताइन् ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले नेपाल प्रहरी श्रीमती सङ्घलाई धन्यवाद दिँदै यस प्रकारको परोपकारी कार्यले श्रीमती सङ्घको गरिमालाई थप उच्च बनाएको उल्लेख गरे ।

सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरलाई प्रदेश प्रहरी प्रमुख बास्तोलाले स्वागत गरेका थिए । सोही अवसरमा अध्यक्ष कुँवरले कार्यालय परिसरमा वृक्षारोपण गरेकी थिइन् । कार्यक्रममा सङ्घकी कोशी प्रदेश अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला, तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायतको उपस्थिति थिई ।