वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले वडा नं ६ स्थित श्रीलङ्का टप्पुमा रहेको जनता आधारभूत विद्यालय (०-८) मा आगामी शैक्षिक सत्र २०८१ बाट कक्षा नौ सञ्चालन हुने भएको छ ।

आधारभूत तह उत्तिण गरेपछि बेलका नगरपालिकाको रामपुर, भागलपुर र कोशी तरेर राजाबास, चक्रघट्टी धाउनु पर्ने टप्पुका विद्यार्थीहरूको बाध्यतालाई अन्त्य गराउन नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि कक्षा नौ सञ्चालन गर्ने योजना अनुसार तयारी थालिएको नगर प्रमुख रमेश कार्कीले बताए । नगर प्रमुख कार्कीले भन्ने, "श्रीलङ्का टप्पुसँगै वडा नं १ मा रहेको सुर्यकुण्ड आधारभूत विद्यालयमा पनि नौ कक्षा सञ्चालन गर्ने योजना बनाएका छौ । विद्यालयमा पुगेर विद्यालयको भौतिक कुराको अनुगमसँगै विद्यालय प्रशासनसँग समेत छलफल भई सकेको छ। विद्यालयमा दरबन्दी व्यवस्थापन गरेर कक्षा नौ सञ्चालन गर्ने नगरपालिकाले योजना बनाएको छ । विद्यार्थी पर्याप्त छन् । भौतिक अवस्था पनि मध्यम छ । टप्पुमा रहेको जनता आधारभूतमा १ जना बाल विकास शिक्षिका, १ जना कर्मचारी र ७ जना शिक्षक रहेका छन् । यसमा जनशक्ति थप गरेर विद्यालयलाई माध्यमिक बनाउँछौ ।

श्रीलङ्का टप्पुमा हाल कक्षा ८ सम्म पढाइ हुने जनता आधारभूत विद्यालयसँगै वडा नं ६ मा वालसेवा आधारभूत विद्यालय (०-५ ) र वडा नं ९ मा कौशिका आधारभूत विद्यालय (०-५ ) सञ्चालनमा रहेका छन् । २०४६ सालमा स्थापना भएको जनता आधारभूत विद्यालयमा हाल २ सय ५५ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् । कक्षा आठमा ३२ विद्यार्थी रहेको र उनीहरू उत्तिण भएपछि कोशी तरेर चक्रघट्टि, राजावास तथा रामपुर र भागलपुर पढ्न जाने गरेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्मकारले बताए । नगरपालिकाले विद्यालयमा दरवन्दीको थप व्यवस्थापन गरी नौ कक्षा सञ्चालन गरे यहाँका विद्यार्थी र अभिभावकहरूलाई ठुलो राहत मिल्ने प्रधानाध्यापक कर्मकारको भनाई छ ।

वराहक्षेत्र वडा नं. ६ र ९ मा विभाजित भएको मदेशको आदिवासी चन्दवंशी, मण्डल लगायत सबै खाले मदेसी साह, यादव जातजाति पहाडका राई, माझी, मगरको बसोबास भएको श्रीलङ्का टापुमा विद्यालय स्थापना भएको करिब ३५ वर्षपछि माध्यमिक तहको पढाइ भए ठुलो विकासको सुरुवात हुने स्थानिय कोशिका आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अर्जनु चन्द्रवंशी बताउँछन् । नगरपालिका कक्षा नौ को पढाइ सुरु गरे यहाँका विद्यार्थीहरूलाई ठुलो राहत मिल्ने उनको भनाई छ ।