विराटनगर : कोशी प्रदेश सरकारले शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु गरेको छ । चालु आर्थिक वर्षको अध्यादेश बजेट प्रतिस्थापन गर्दै मुख्यमन्त्री केदार कार्कीको सरकारले विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्र स्थापना गर्न बजेट विनियोजन गरेको हो ।

बजेटले विराटनगर स्थित सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदय रोग केन्द्रमा रूपान्तरण गर्ने व्यवस्था गरेको छ । त्यसलाई कार्यान्वयन गर्न काठमाण्डौबाट आएको विशेषज्ञहरूको टोलीले बुधवार देखी अध्ययन थालेको छ ।

टोलीमा न्याम्सका उपकुलपति भूपेन्द्र बस्नेत, रेक्टर डा.लोचन कार्की, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा.अनिल विक्रम कार्की, मुटु रोग विशेषज्ञ प्राध्यापक डा.भगवान् कोइराला, काउन्सिलका सह-कोषाध्यक्ष डा.विक्रान्त ढकाल लगायत सहभागी छन् । टोलीले हृदय रोग केन्द्र सञ्चालनका लागि बुधवार स्थलगत अध्ययन अवलोकन गरे ।

कोरोना महामारीकालमा प्रदेश सरकारले कोभिड अस्पताल सञ्चालन गरेको अस्पतालको भवन, उपकरण, जनशक्ति, ऐन, नियम, निर्देशिका लगायतका बारेमा अध्ययन सुरु गरिएको डा. कोइरालाले बताए ।

सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रमा नेगेटिभ प्रेसर सहितको २४ वटा आइसियु, २० वटा आइसियु, ४७ वटा एचडीयू र ८१ वटा सामान्य शैय्या, इसिजी, एक्स-रे सेवा, १५० सिलिण्डरको दुई वटा अक्सिजन प्लाण्ट, वेष्ट म्यानेजमेन्ट छ ।

केन्द्रमा अहिले ओपिडी सेवा सञ्चालनमा रहेको प्रशासन प्रमुख अनुपम राजवंशीले बताए । केन्द्रसँगै रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नेपालमा उपलब्ध सबै प्रयोगशाला सेवा उपलब्ध रहेको बताइएको छ ।

हृदय रोग विशेषज्ञ प्राडा. कोइरालाले सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रको जग्गा, भौतिक संरचना, उपकरण, जनस्वास्थ्य प्रयोगशाला हृदय रोग केन्द्र साथै धेरै सेवा सञ्चालन गर्ने अवस्थामा रहेको बताए । उनले भने ‘तर हामीले अहिले कहाँ र के के सेवाबाट हृदय रोग केन्द्र सञ्चालन गर्न सकिन्छ भन्ने बारे अध्ययन गर्दैछौं ।’

सघन उपचार केन्द्रमा रहेको आइसियु, एचडियू लगायतका उपकरणहरू कोरोना महामारीपछि प्रयोग विहीन रहेको छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले उक्त उपकरणहरूको उपयोग गरेर हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु गरेको बताए ।

उनले भने ‘सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रलाई अबको एक महिनाभित्र शैलजा आचार्य हृदय रोग केन्द्रको रूपमा सञ्चालन गर्छौँ ।’ त्यसको लागि काठमाण्डौंबाट हृदय रोग विशेषज्ञ प्राडा. भगवान् कोइराला लगायतका विशेषज्ञ टोली सञ्चालनको तयारीमा जुटेको मुख्यमन्त्रीले बताए ।

biratnagar-hospital-news