धरान : पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री सुदन किराँतीले हालै दिएको अभिव्यक्ति ज्यादै गैरजिम्मेवार र वर्तमान संविधान विरुद्ध अभिव्यक्ति भएको भन्दै नेपाल सन्त समाजले आपत्ति जनाएको छ ।

समाजले आज बिहीबार वक्तव्य जारी गर्दै मन्त्री किराँतीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । मन्त्री किराँतीको अभिव्यक्ति ‘नेपाललाई जातीय, धार्मिक, द्वन्द्वमा फसाई आफ्नो साम्राज्य विस्तार गर्ने दुराशय साथ देशद्रोही विधर्मीहरूको भ्रम छर्ने प्रलोभनमा परेका केही स्वार्थी व्यक्तिहरूले बेलाबेलामा दिने अभिव्यक्तिसँग मिलेको’ आरोप वक्तव्यमा लगाएको छ ।

वक्तव्यमा भनिएको छ, ‘उनले बोलेको अनर्गल प्रलापप्रति नेपाल सन्त समाजको गम्भीर ध्यानाकर्षण भएको छ । वर्तमान संविधानको मर्मविरुद्ध सनातन माथि घृणा फैलाउने र धर्मान्तरका लागि दुरुत्साहित गर्ने अभिप्रायले गरिएको सनातन धार्मिक आस्था माथि गरिएको प्रहार हो र यो अक्षम्य अपराध पनि हो ।’

वक्तव्यमा सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज एवं महासचिव डा.गुरुप्रसाद सुवेदीको हस्ताक्षर छ ।

Nepal Santa Samaj Bigyapti