विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, प्रत्येक पालिकाका दुई जना विपन्नलाई कृषि र पशु प्राविधिक शिक्षा लगायतका मानवीय विकासको योजना कार्यान्वयन गर्न सुरु गरेको छ ।

प्रदेश सरकारको यो योजनाले प्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्था अन्त्य हुने कुरा मुख्यमन्त्री केदार कार्कीले दाबी गरेका छन् । रिडेफ नेपालका बिहीबार आयोजित प्रदेशको नीति तथा योजनामा दलित सरोकार विषयक अन्तरक्रियामा उनले उक्त दाबी गरेका हुन ।

मुख्यमन्त्री कार्कीले भने ‘विभेदरहित समाज निर्माणका लागि चालू आर्थिक वर्षबाट प्रदेश सरकारले सुरु गरेको मानवीय विकास अभियानले १० वर्षपछि दलित लेख्ने अवस्था रहँदैन ।’

उनका अनुसार प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुविधा कार्यान्वयन गरिसकेको छ । प्रत्येक पालिकाका दुई जना विपन्न परिवारका विद्यार्थीलाई कृषि र पशु प्राविधिक शिक्षा प्रदान गर्ने काम सुरु भएको छ ।

मुख्यमन्त्री कार्कीले उदाहरण दिँदै भने ‘काँग्रेस नेता मीनबहादुर विश्वकर्माको घरमा सबै वर्ग, जात, धर्मका मान्छे जान्छन् र खान्छन् त्यसैले अब उहाँ दलित अभियानकर्ता भएपनि उहाँ दलित होइन ।’ जात धनसँग जोडिएको छ । समाजमा गरिब भएपछि विभेद सुरु हुन्छ । यहाँका मानिसहरूको जात, धर्म, गोत्र, बंस, पितृ, व्यवहार, संस्कार र संस्कृति समान रहेको उनले बताए ।

उनले भने ’अब दलित र गैर दलित नभनौँ ।’ सबै समानताको व्यवहार गरौँ र त्यसमा राज्यले प्रमाणीकरण गरिदिने विषय भएको उनले बताए । सम्पत्ति, शिक्षा र स्वास्थ्यबाट मात्रै समाजमा समानताका लागि सबैको पुनर्बहाली हुने मुख्यमन्त्री कार्कीको भनाई थियो ।

उनले भने, ‘ब्राह्मण समाजमा नै सबभन्दा बढी विभेद छ किनकि जैशीले छोएको ब्राह्मणले खाँदैन । एउटा थरको कथित दलितले अर्को थरका दलितले छोएको नखाने हाम्रो समाज छ ।’

परम्परागत सीपलाई प्राविधिक शिक्षाको रूपमा ब्राण्डिङ्ग गर्न नसकेकाले पनि नेपाली समाज पछि परेको मुख्यमन्त्री कार्कीले बताए । प्राविधिक शिक्षामा ब्यूटिसियन, तालिमले मात्रै नहुने बताउँदै खुकुरी, चुलेसी, दाउरा सुरुवाल बनाउने सीप प्राविधिक शिक्षामा राख्नु पर्नेमा उनले जोड दिए ।

कोशी प्रदेशसभामा ४ जना प्रदेश सांसद, १ हजार २१९ जना पालिकामा वडा सदस्य र वडा अध्यक्ष १० र अध्यक्ष १ जना निर्वाचित भएको सङ्ख्या बढाउन सबैको योगदान आवश्यक भएको मुख्यमन्त्री कार्कीले बताए ।

Mukhyamantri karki