धरान : स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण सेवा गर्दै आएका विराट नसिंङ होमका मुटु रोग विशेषज्ञ डा.प्रशान्त साह शुक्रवार धरानमा सम्मानित भएका छन् । धरान स्थित चन्द्रकुमारी स्मृति प्रतिष्ठानले उनलाई सम्मानित गरेको हो ।

यसैंगरी ‘कपुरी न्युज’की पत्रकार रश्मि प्रधानलाई नगद ५५०० राशीको टङ्कबहादुर प्रधान पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रतिष्ठानले सामाजिक, शिक्षा तथा स्वास्थ्य सेवाको क्षेत्रमा योगदान गर्दै आएका व्यक्तित्व र पत्रकारलाई प्रत्येक वर्ष सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।

सम्मान र पुरस्कार दुवै शुक्रवार सिद्धि नेवा: परिषद्को सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि समाजसेवी सरला कायस्थले सम्मानित र पुरस्कृत गरेकी हुन् ।

चन्द्रकुमारी स्मृति प्रतिष्ठान धरानका महेश प्रधान र बुहारी अञ्जु प्रधानले आफ्नी दिवङ्गत आमा चन्द्रकुमारी प्रधानको स्मृतिमा स्थापना गरेका हुन । बर्सेनि पुण्यतिथीका अवसरमा आयोजना गरिने कार्यक्रममा प्रदान गर्ने सम्मान र पुरस्कार यसपालि ११ औँ पुण्यतिथीमा प्रदान गरिएको हो । पत्रकार प्रधानलाई प्रदान गरिएको पुरस्कार दिवङ्गत पिता टङ्कबहादुर प्रधानको स्मृतिमा स्थापना गरिएको हो ।

सोही अवसरमा प्रतिष्ठानले ४ जना विद्यार्थीलाई नगद ५५०० रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति पाउने विद्यार्थीहरूमा पब्लिक हाई स्कुलमा कक्षा ११ विज्ञानका छात्र जनम विश्वकर्मा, सहिद स्मृति माविमा व्यवस्थापनका छात्रा सन्ध्या राई, किरातेश्वर माविमा कानुनका छात्रा प्रतिमा कार्की, शारदा बालिकामा व्यवस्थापनका छात्रा अनुष्का राई छन् ।

प्रतिष्ठानले धरान-१ स्थित सरस्वती आधारभूत विद्यालयलाई बाल विकास शिक्षा कोठाको लागि कार्पेट र पोडियम, ङाग्युर छ्योलिङ गुम्बा निर्माणार्थ १५५०० रुपैयाँ प्रदान गरेको छ । स्पाइनल कार्ड इञ्जुर बिरामी पुण्य पोख्रोलका छोरा छोरी एरुसा र आयुसलाई शैक्षिक सामाग्री सहित नगद ५ हजार रुपया प्रदान गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष महेश प्रधानको सभापतित्वमा भएको कार्यक्रममा बिपी प्रतिष्ठानका प्राडा विक्रम श्रेष्ठ, धरान-१ का वडाध्यक्ष यज्ञमणि आर्चाय लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन सचिव  मोहन श्रेष्ठले गरेका थिए ।

rasmi-samman