धरान : अदालतद्वारा विभिन्न अपराधको मुद्दामा फैसला गर्दै दण्ड सजाय तोकिएका धरानका ११ जना फरार अभियुक्त सहित सुनसरीका कुल ३० जना प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्ला प्रहरीले दिएको जानकारी अनुसार फरार उनीहरूलाई मङ्सिर १ देखी पुष ६ गतेको अवधिमा जिल्लाका प्रहरी इकाईहरूबाट परिचालिन प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ गरिएकाहरूलाई अदालतद्वारा तोकिएको कैद सजाय, दण्ड भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ । पक्राउ परेका फरार अभियुक्तहरूमा लागुऔषध मुद्दाका धरान-१५ का कृष्ण राई, धरान-२० का नबिन राई, धरान-११ का नवराज भूजेल, धरान-११ का समीर गुरुङ छन् । चोरी मुद्दाका धरान-८ का एलिश भन्ने सबिन श्रेष्ठ पनि पक्राउ परेका छन् ।

यसैगरी हातहतियार खरखजाना मुद्दाका धरान-८ का डिकबहादुर तामाङ, लेनदेन मुद्दाका धरान-१७ का चिजा लिम्बु छन् । लागुऔषध मुद्दाका धरान-२ का अतिश खड्गी, धरान-११ का कान्ते भन्ने राजन प्रधान, धरान-५ का अनिल लिम्बु, धरान-११ का कुमार तामाङ छन् ।

धरान-८ का आर.एन. भन्ने प्रविन सुन्दाशलाई अदालतले ९ वर्ष ८ महिना ८ दिन कैद सजाय तोकेको फरार थिए । उनलाई पनि प्रहरीले पक्राउ गरी कारागार चलन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका फरार अभियुक्तहरू माथि अदालतले न्यूनतम २ दिन देखी ९ वर्ष सम्मको केद सजाय तथा दण्ड जरिवाना न्यूनतम ४०० देखी ४ लाख ६५ हजार रुपैयाँसम्म तोकेको जिल्ला प्रहरी कार्यालयले दिएको विवरणमा उल्लेख छ ।