धरान : प्रदेश नं १ पुनः नामाङ्कनका माग गर्दै संयुक्त सङ्घर्ष समितिले सुरु गरेको आन्दोलनको पछिल्लो बटम लाइन ‘कोशी प्रदेश’ नाम खारेजीमा केन्द्रित भएको समितिको एक मुख्य घटक किरात याकथुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले स्पष्ट गरेकी छिन् ।

धरानमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा उनले भनिन्, ‘पहिले कोशी नाम खारेजी पहिचानवादी आन्दोलनको बटम लाइन हो, त्यस पछि मात्र पुनः नामाङ्कनको कुरा आउँछ ।’ उनले पहिचान सहितको नामाङ्कनको आन्दोलनले गएको फागुन महिना देखी ‘कोशी नाम खारेज’ ‘नो कोशी’लाई बटम लाइन बनाएको बताइन् ।

उनले ‘कोशी’ नाम खारेज नभए सम्म चुम्लुङ आन्दोलनमा होमिएकाले यसपालि मनाइने चासोक तङनाम पर्वलाई पनि आन्दोलनकै एक अङ्गको रूपमा मनाइने बताइन । किरात समुदायको सांस्कृतिक पर्व उँधौली लिम्बु समुदायले चासोक तङनामको रूपमा मनाउँछन् ।

धरानमा सदा झैँ मनाउनको लागि ५ दिने चासोक तङनाम सांस्कृतिक उत्सवको तयारी पुरा भएको जनाकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव निरन्तीले उक्त कुरा बताएकी हुन ।

चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेलाले भने, ‘घरघरमा मनाउने धार्मिक, सांस्कृतिक पर्व चासोक तङनामलाई किरात याकथुङ चुम्लुङले सामूहिक पर्वको रूपमा विकास गरेको हो ।’ प्रकृतिपुजक लिम्बु समुदायले परापूर्व काल देखी अन्नबाली पाकेपछि पहिले प्रकृतिलाई चढाउन चासोक पूजा गर्दै आएका थिए ।

उनले भने, ‘दसैँको विकल्पमा चसोकलाई सामूहिक पर्वको रूपमा विकास गरिएको हो ।’ सञ्चारकर्मीका प्रश्नमा उनले आदिवासी समुदायका पर्वहरू प्रकृतिका याममा आधारित रहेकाले तिथि, मिति एउटै नभएको जस्तो देखिने बताए ।

उनले भने, ‘राज्यले दसैँमा ५ दिन बिदा दिए जस्तै उँधौली, उभौलीमा ३ दिन बिदा र चाडपर्वका सुविधा दिए यो पर्व एउटै तिथि, मितिमा विकसित हुनसक्छ ।’ अन्नबाली पाकेपछि कतिपय आदिवासी जातिमा ६ महिना सम्म चाडपर्वको माहौल हुने सांस्कृतिक परम्पराहरू अहिले पनि विद्यमान रहेको उनको भनाई छ ।

चुम्लुङ धरान उपमहानगर अध्यक्ष तीर्थ मादेम्बाले घरघरमा मनाइने चासोकलाई चुम्लुङले ०५० साल देखि धरानबाटै सामूहिक रूपमा मनाउन सुरु गरेको बताए । चुम्लुङ हिममा सांस्कृतिक उत्सवका रूपमा मनाइने चासोक यसपालि पनि ५ दिन सम्म मनाउने सबै तयारी पुरा भएको उनले जानकारी दिए ।

उनका अनुसार चासोक तङनामको पहिलो दिन आज पुस ९ गते साँझ लिम्बु जातिको धार्मिक अनुष्ठान एक राते चमेन तङसिङ सुरु हुनेछ । पुस १० गते चासोक पूजा, विजयपुर स्थित हाङयुक्नामा पूजा अर्चना र सिरिजगा चौक स्थित त्येअङ्सी सिरिजंगाको सालिकमा माल्यार्पण एकै समयमा गरिने छ ।

औपचारिक उद्घाटन अघि सोमवार आदिवासी झाँकी सहित ‘नो कोशी’ आन्दोलन स्वरूप रयाली प्रदर्शन गरिने अध्यक्ष मादेम्बले बताए । चौथो दिन पुस १२ गते याकथुङ खेलहरूको प्रतियोगिता हुनेछ । पाचौ दिन पुस १३ गते आदिवासी सघ संस्थाहरूको सांस्कृतिक प्रदर्शनी सहित समापन कार्यक्रम तर्जुमा गरिएको छ ।

औपचारिक कार्यक्रम बाहेकका समयमा चुम्लुङ परिसरमा स्थानिय एवं राष्ट्रिय कलाकारहरूद्वारा गीत, सङ्गीतका सांस्कृतिक कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछ । परिसरमा लिम्बु परिकार सहितका खानपानका लागि २० वटा स्टलहरू राखिएका छन् । स्टलहरूमा खानपानका साथै स्थानिय परम्परागत उत्पादन बिक्री वितरण, प्रदर्शनी हुनेछन् ।