इटहरी : नेपाली काँग्रेस कोशी प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनको लागि नाम सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार प्रदेश कार्यालय विराटनगरमा बसेको बैठकले जिल्लाबाट सिफारिस भएका नामहरू सिफारिस गर्ने निर्णय गरेको हो ।

जिल्लाबाट आएका नामलाई क्रमगत रूपमा मिलाएर केन्द्रीय समितिमा सिफारिस गर्ने भएको छ । विगतमा गरेको योगदान, उमेर र योग्यताको आधारमा नामहरू पठाउने निर्णय भएको प्रदेश महामन्त्री उमेश थापाले जानकारी दिए ।

१० गतेभित्र नाम पठाउने केन्द्रीय समितिले दिएको निर्देशन अनुसार नाम सिफारिस गरिएको उनको भनाइ छ । मर्यादाक्रम र वरियता अनुसार नाम पठाइएको उनले बताए ।

जिल्लाबाट आएका मध्ये कृष्णप्रसाद सिटौला र महिला तर्फ सुजाता कोइरालाको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ । त्यससँगै महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डिला संग्रौला, रुक्मिणी कोइराला लगायतको नाम सिफारिस गरिएको बताइएको छ ।

राष्ट्रिय सभा निर्वाचनको लागि काँग्रेस भित्र आन्तरिक प्रतिस्पर्धा बढ्दै गएको छ । सभापति शेरबहादुर देउवाले सिटौलाको नाम अगाडि सारेका छन् । इतर समूहका डाक्टर शेखर कोइरालाले मिनेन्द्र रिजाललाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजितलाई राष्ट्रिय सभामा पुर्‍याउन नहुने डाक्टर कोइरालाको अडान छ ।