वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका चक्रघट्टीमा क्रियाशील संस्था लायन्स क्लब अफ सप्तकोशी डायनामिकले मंगलबार वडा नं.८ सालवनी स्थित जनक माध्यमिक विद्यालयमा विशेष (सुस्त श्रवण) कक्षामा अध्ययन गर्ने २० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

क्लबका अध्यक्ष दुर्गानन्द दास (विक्रम) को शुभदिनको अवसरमा क्लबले विद्यार्थीहरूलाई न्यानो कपडा (ट्र्याक सुट) वितरण गरेको हो । जन्मदिनको दिन भेटघाट र साथीभाइसँगको रमाइलोमा हुने खर्चबाट कटौती गरी अति आवश्यक परेका र आश्रित विद्यार्थीहरूलाई केही सहयोग गरौँ भन्ने उद्देश्यले कपडा वितरण गरिएको क्लबका अध्यक्ष दासले बताए ।

क्लबका सदस्यहरूले स्थापना कालदेखि नै समुदाय केन्द्रीकृत कार्यक्रमहरू गर्दै आइरहेको र उक्त कार्यलाई निरन्तरता दिएको उनले बताए ।

वडा नं.८ का अध्यक्ष रोशन खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोष चौलागाईं, लायन्स क्लबका जोन चेयर पर्सन सुनिल शाह, विद्यालयका प्रधानाध्यापक तेज प्रसाद भट्टराई तथा विशेष कक्षाका श्रोत शिक्षक घनश्याम नेपाल लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक रूपान्तरणका क्षेत्रमा, मानव सेवाको क्षेत्रमा क्लबले स्थापना कालदेखि नै निरन्तर उल्लेखनीय कार्यक्रमहरू गर्दे आएको भन्दै क्लबका अध्यक्ष तथा पदाधिकारीलाई वडा नं.८ का अध्यक्ष रोशन खड्काले धन्यवाद दिए । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्नमा जुन सक्रियता देखाएको छ त्यसका लागि क्लब प्रति म विशेष धन्यवाद र आभार प्रकट गर्दछु ।" उनले भने ।

हामी सेवा गर्छौँ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै अगाडि बढिरहेको क्लबले यस वर्ष मात्रै सामुदायिक विद्यालयमा कपी कलम वितरण, गरिब परिवारलाई खाद्यान्न वितरण, बोन म्यारो क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग हस्तान्तरण, वृक्षारोपण कार्यक्रम लगायतका कार्यक्रमहरू गरिसकेको र आगामी समयमा निरन्तर समुदायमा प्रत्यक्ष सरोकार राख्ने कार्यहरू गर्दै सामाजिक सेवामा अगाडि बढिरहने क्लबका संस्थापक अध्यक्ष सन्तोष चौलागाईंले बताए ।