झापा : झापाको कचनकवल गाउँपालिकाका जनप्रतिनिधिहरूले पालीकाको समग्र विकासका कामहरू योजनाबद्ध रूपमा अघि बढिरहेको बताएका छन् । २०७९ सालमा सम्पन्न स्थानियतहको निर्वाचन पछि पालीकामा नागरिकले अनुभूति गर्ने गरी विकासका कामहरू अघि बढिरहेको उनीहरूले दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन झापाले आयोजना गरेको जनप्रतिनिधि र पत्रकार बिचको अन्तर्क्रिया कार्यक्रमका बोल्दै कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीले गाउँपालिकाका सातै वटा वडाको बाटो कालोपत्रे गर्नका लागी रकम विनियोजन गरिएको बताए । ग्राभेल सडक पटकपटक मर्मत गर्दा साधन र स्रोतको धेरै खर्च हुने भएकोले बरु हरेक वर्ष थोरैथोरै गरेर भएपनि आफूहरूको कार्यकालमा सबै वडाका मुख्य बाटोहरू कालोपत्रे गर्ने गरी योजना अघि बढाइएको बताए ।

युनियन झापा अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष राजवंशीले कृषकहरूलाई तोरी खेतीमा अनुदान, राँगाका पाडा अनुदान दिने कार्यक्रम देखी स्थानिय परिकार पाटाको पत्ता सुकाएर बनाइने सुकाती उत्पादनका लागी अनुदान लगायतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा कचनकवल गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष चिन्तामणि खरेलले आफूहरू निर्वाचित भएर आए देखी बनाएका योजनाले पालीकामा आवश्यक पुल पुलेसाहरू बनेको, १ हजार ५ सय जना विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिएको, खानेपानी सबैकोमा पुर्याउने योजना अघि बढाइएको तथ्याङ्क प्रस्तुत गर्दै नागरिकले अनुभूति गर्ने गरी विकासका योजना सञ्चालन गरिएको बताए । त्यसै गरी वडा नम्बर ६ का वडा अध्यक्ष भरत राजवंशीले मृतक परिवारलाई किरिया खर्च बापत ५ हजार रुपैयाँ दिइँदै आएको, कृषकलाई अनुदानमा बाख्रा वितरण जस्ता कार्यक्रमले विपन्नलाई ठुलो राहत मिलेको बताए  ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै नेपाल प्रेस युनियन झापा अध्यक्ष भट्टराईले पालीकामा सञ्चालन गरिएका राम्रा कामहरूको बारेर अनुभव बाँड्न र उदाहरणीय योजनाहरूको बारेमा प्रचार गर्न कार्यक्रम सञ्चालन गरिएको बताए । कार्यक्रममा प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौलाले नेपालकै होचो ठाउँलाई पालीकाले पर्यटक आकर्षकको केन्द्र बनाउन सके त्यसबाट लाभ लिन सक्ने बताए ।

प्रेस युनियन झापा सह सचिव जसोदा राजवंशीले सञ्चालन गर्नु भएको कार्यक्रममा धन्यवाद मन्तव्य राख्ने प्रेस युनियन झापा उपाध्यक्ष ईश्वर अधिकारीले जिल्लाका अन्य पालिकाहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने बताए ।