धरान : ताप्लेजुङ जिल्ला पाथीभरा याङवरक गाउँपालिका-१ स्थित त्रिवेणी बनबाट मङ्गलवार साँझ भरुवा बन्दुक सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय मौसम खिमदिम र समीर खिमदिम छन् । सूचना पाएपछि प्रहरी चौकी मेवाखाबाट गएको प्रहरी टोलीले साँझ ७ बजे जङ्गलबाट उनीहरूलाई पक्राउ गरेको हो ।

अवैध भरुवा बन्दुक लिएर सिकार खेल्न गएको उनीहरूबाट बरामद भएको सामाग्रीबाट अनुमान लगाउन सकिन्छ । प्रहरीले उनीहरूको साथबाट भरुवा बन्दुक २ नाल, भरुवा बन्दुकमा प्रयोग हुने सामाग्रीहरू, खुकुरी १ थान, गेटिस १ थान, मारेको कालिज १ वटा र मोबाइल १ थान बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूको बारेमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले थप अनुसन्धान गरिरहेको बताइएको छ ।