विराटनगर : समाजलाई समृद्ध बनाउन ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीप उपयोगी हुने महानगरपालिका मेयर नागेश कोइरालाले बताएका छन् ।

सयौँ पृष्ठको पुस्तकमा पाउन नसकिने ज्ञान ज्येष्ठ नागरिकहरूबाट पाउन सकिन बताउँदै उनले भने ‘ज्येष्ठ नागरिकहरू ज्ञान, अनुभव र संस्कारका खानी हुन्, उहाँहरूले जीवनका कालखण्डमा ग्रहण गरेका अनुभव र ज्ञानलाई समाज विकासमा लगाउनु जरुरी छ ।’

ज्येष्ठ नागरिक महासङ्घ कोशी प्रदेश, मोरङ जिल्ला सङ्घ मोरङ, विराटनगर महानगर र वडा ५ समितिको संयुक्त आयोजनामा भएका ज्येष्ठ नागरिक दिवसमा मेयर कोइरालाले उक्त कुरा बताएका हुन ।

महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सहित ८० वर्ष नाघेकालाई घरमै स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनमा रहेको मेयर कोइरालाले जानकारी दिए ।

सोही अवसरमा विराटनगर-५ की १०२ वर्षीय रत्नलक्ष्मी श्रेष्ठ, ९८ वर्षीय विष्णुप्रसाद दाहाल र विराटनगर-१ की ९६ वर्षीय अम्बरबहादुर बस्नेतलाई सम्मान गरिएको छ ।

महासङ्घका कोशी प्रदेश अध्यक्ष मणिकुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर-५ का वडाध्यक्ष सन्तोष न्यौपाने, उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, ज्येष्ठ नागरिक जिल्ला अध्यक्ष यज्ञश्वर निरौलाले ज्येष्ठ नागरिकका समस्याहरूका बारेमा चर्चा गरे । कवि, पत्रकार मीनकुमार नवोदितले ‘रिटायर्ड जिन्दगी’ शीर्षकको कविता वाचन गरे ।