धरान : धरान उपमहानगरपालिकाले धरान-१७ स्थित सप्तरङ्गी पार्क र एन्फा एकेडेमीको टेक्निकल सेन्टर जाने सडकको नाम एन्फा मार्ग नामकरण गरेको छ ।

उक्त सडक झण्डै चार दशक अघि निर्माण भएको सप्तरङ्गी पार्क र विश्व फुटबल सङ्घको लगानीमा निर्माण भएको एन्फा एकेडेमी फुटबल प्रशिक्षण केन्द्रको टेक्निकल सेन्टर जाने प्रवेश मार्ग हो ।

सडकको प्रवेश स्थल धरान-१७ रेल्वे मूल सडकमा निर्मित स्वागतद्वारको आज बुधवार एक समारोह बिच अखिल नेपाल फुटबल सङ्घ एन्फाका केन्द्रीय अध्यक्ष पङ्कज विक्रम नेम्वाङले उद्घाटन गरे ।

नेम्वाङले उक्त सडकलाई सौन्दर्यीकरण गर्दै कोशी प्रदेश फुटबल सङ्घको पहलमा प्रवेशद्वार निर्माण र  एन्फा मार्ग नामकरण एउटा नमुना कार्य भएको बताए । उनले भने ‘कोशी प्रदेश एन्फाले बाटोको नाम कायम गरेर उदाहरणीय कार्य गरेको छ ।’

कोशी प्रदेश फुटबल सङ्घ अध्यक्ष तथा एन्फा मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले सप्तरी पार्कलाई स्पोर्टस पार्कको रूपमा विकसित गर्न स्थानीय सरकार धरान उपमहानगरपालिका तथा नेपाल सरकार समक्ष पहल गर्ने बताए ।

उनले भने ‘बाटोको नामकरणले सप्तरङ्गी पार्कको इतिहास नमेटिने गरी धरानमा सप्तरङ्गी स्पोट्र्स पार्क बनाउने योजना नयाँ इतिहास बन्ने छ ।’ स्पोर्टस पार्कमा धरानका लेजेन्ड व्यक्तित्वहरू तथा फुटबलका हस्ती राजु शाक्यको प्रतिमा, जीवनी, वक्सिङ खेलमा पहिलो ओलम्पिक पदक प्राप्त गर्ने नरेन्द्र पोमा, नेपालमा सितेरियो करातेका सुरुआतकर्ता थानेश्वर राई, पहिलो बडिबिल्डर पदक विजेता राजभगत प्रधानाङ्ग लगायतको प्रतिमा राखिने योजना रहेको उनले बताए ।

पार्कमा नाईटबार सहितको लक्जरी हुने उनका भनाई छ । उनले भने ‘पार्कमा हजारौँ स्थानीयले  रोजगारी पाउने छन् ।’ नाईटबारमा आउने व्यक्तिहरूले लाखौँ खर्च गरेर राज्यलाई आम्दानी समेत दिने अध्यक्ष राईले बताए । उनले भने स्पोर्टस सिटी बनाउन स्थानीय सरकारलाई दस्ताबेज बुझाएको जानकारी पनि दिए ।

प्रवेशद्वार निर्माणमा उपमेयर आइन्द्र विक्रम बेघाको कोषबाट  ६ लाख विनियोजन भएकोमा ४ लाख ५५ हजारमा निर्माण कार्य सम्पन्न भएको बताइएको छ। एन्फा मार्गलाई अझ व्यवस्थित गर्न बाटोमा रेलिङ बनाउने, बाटोको छेउमा फुल रोपेर अझ सुन्दर बनाउने पहल एन्फाले गर्ने अध्यक्ष राईले बताए ।

सोही अवसरमा एन्फा अध्यक्ष नेम्वाङले कोशी प्रदेश स्तरीय सी लाइसेन्स कोच कोर्सको समापन समेत गरेका छन् । एसियाली फुटबल सङ्घको मान्यता प्राप्त सी लाइसेन्स कोच कोर्स तालिम मङ्सिर ५ गते सुरु भएको थियो । तालिममा २४ जनाले सहभागी थिए ।

anfa-road-2