धरान : प्रहरी हवल्दार हरिप्रसाद ढकाल मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् । उनलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

प्रहरी हवल्दार ढकाल प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह ‘पिआइटी’मा कार्यरत छन् । विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेकोले उनलाई मङ्सिर महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सर्वोत्कृष्ट घोषित हवल्दार ढकालले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ र ९ मा मङ्सिर महिनाको विभिन्न मितिमा स्काभेटरमा शृङ्खलाबद्ध रूपमा आगजनी भएको घटनाको सफल अनुसन्धान पश्चात् दोषीलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।