धरान : सङ्खुवासभाको भोटखोला गाउँपालिका-२ चेम्ताङबाट सालकको खपेटा सहित स्थानीय ३५ वर्षीय छिरिङ भोटेलाई प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरी अनुसार बुधवार साँझ ७ बजे प्रहरी चौकी चेपुवाको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाँदा ६/७ जनाको समूहले सेतो बोरामा भारी बोकी हिँडिरहेका थिए । प्रहरी टोलीलाई देखेपछि बोरा फाली भागेकोले प्रहरीले पछ्याउँदै जाँदा स्थानीय छिरिङ भोटेलाई पक्राउ परेका हुन् ।

छिरिङको समूहले छोडेर भागेको बोराहरू खोलेर हेर्दा बोरा भित्र सालकको खपेटा प्रहरीले बरामद गरेको हो । पक्राउ परेका भोटेको सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा फरार रहेका अन्य व्यक्तिहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।