धरान : अदालतबाट विभिन्न अपराधमा फैसला भई दण्ड सजाय तोकिए पनि कतिपय फैसलाका अभियुक्त वर्षौँ फरार हुने गरेका छन् । त्यस्ता फरार अभियुक्तहरूलाई पक्राउ गरी दण्ड सजाय भुक्तान गर्न प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार झापा, मोरङ, उदयपुर र पाँचथर जिल्लाबाट ५ जना त्यस्ता फरार अभियुक्तलाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दामा झापा जिल्ला अदालतबाट ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका दमक-३ का २९ वर्षीय शम्भु लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

डाँका मुद्दामा पाँचथर जिल्ला अदालत फिदिमबाट ६ वर्ष कैद १२ हजार ५ सय १० जरिवाना तोकेको फक्तालुङ गाउँपालिका-६ ताप्लेजुङका २९ वर्षीय राजु ताप्मादेन लिम्बु भन्ने दिव्य लिम्बुलाई पक्राउ गरेको छ ।

घरमा आगो लगाएको मुद्दामा मोरङ जिल्ला अदालतबाट ६ महिना कैद भई फरार रहेका लेटाङ-३ का ३० वर्षीय सुमन राईलाई इलाका प्रहरी कार्यालय लेटाङले पक्राउ गरेको छ ।

गाली बेईजती मुद्दामा उदयपुर जिल्ला अदालतले ५/५ हजार जरिवाना तोकेको बेलका-५ का ६२ वर्षीय डम्बर बहादुर कटुवाल र ५२ वर्षीय तिलक बहादुर कटवाललाई प्रहरी चौकी लालबजारले पक्राउ गरेको छ ।

पक्राउ परेका अभियुक्तहरूलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित अदालतहरूमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।