धरान : लिम्बुवान पार्टीको निर्वाचन आयोगमा दर्ता भएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आधिकारिकता अध्यक्ष कुमार लिङदेन मिराक नेतृत्वले पाएको छ ।

मञ्चले उक्त जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङदेनले भने, ‘लिम्बुवान आन्दोलनलाई कमजोर बनाउन निर्वाचन आयोगमा चार पटक मुद्दा हालेपनी हामीले जितेर आधिकारिकता प्राप्त गरेका छौँ ।’

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बहुमत सहित कुमार लिङदेनलाई अध्यक्ष नरहेको जनाउँदै अध्यक्ष ज्ञानबहादुर गुरुङ निर्वाचित भएको अर्को मञ्चले निर्वाचन आयोगमा आधिकारिक भएको दाबी गर्दै मुद्दा दिएको थियो ।

पत्रकार सम्मेलनमा अध्यक्ष लिङदेनले सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्च पार्टी सिद्ध्याउन विभिन्न व्यक्तिहरूले खेल खेलेपनी सङ्घीय लिम्बुवान मञ्च आधिकारिकता पाएर अझ मजबुत भएको बताए । अध्यक्ष लिङदेनले भने, ‘अबको लडाई लिम्बुवानको अस्तित्वको लडाई हुनेछ ।’

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आधिकारिकता पाएपछि पहिचानको आन्दोलन अझ पेचिलो भएर गएको उनले बताए । अध्यक्ष लिङदेनले भने, ‘आन्दोलन विगत १८ वर्ष देखिको हो, आन्दोलन निरन्तर चलिरहेको छ, यसलाई अझ सशक्त बनाउन प्रदेश न १ स्तरीय सङ्घर्ष समिति गठन भएको छ ।’ उनले पहिचानवादी शक्ति एक ठाउँमा उभिएर सङ्घर्ष समिति सहित चरणबद्ध आन्दोलनमा उत्रिइसकेकोले आन्दोलन अझ पेचिलो भएर गएको बताए ।

उनले भने, ‘हाम्रो आन्दोलन विगत १८ वर्ष देखिको हो, आन्दोलन निरन्तर चलिरहेको छ, यसलाई अझ सशक्त बनाउन प्रदेश नं। १ स्तरीय सङ्घर्ष समिति गठन भएको छ, यसमा पहिचानवादी सबै एकै ठाउँमा छौँ, यो समितिमा हाम्रो भूमिका पनि महत्त्वपूर्ण रहन्छ ।’

अध्यक्ष लिङदेनले मञ्चको आन्दोलन तुहाउन केही व्यक्तिहरूले कोसिस गरे पनि असफल भएको बताए । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा लिम्बुवान फुटाउन भूमिका खेल्नेहरू भनी ज्ञानबहादुर गुरुङ, अशोक चेम्जोङ, दिलकुमार लावती, भविराज तुम्सा, धनबहादुर पन्धाक, इन्दिरा मेन्याङ्बो, मदम माबो, अमर इजम, लगायतको नाम उल्लेख छ ।

उनले अरुण सप्तकोशी पूर्वको भूमिमा अणुबमले पनि ध्वस्त गर्न नसक्ने लिम्बुवान आन्दोलनले जरा गाडेको देखेपछि पहिचानको आन्दोलनलाई तुहाउन तथा मञ्चलाई ध्वस्त बनाउन पटकपटक आक्रमण भए पनि उनीहरूको प्रयास असफल भएको बताए ।

अध्यक्ष लिङदेनले भने, ‘मञ्चको संरचना अनुसार लिम्बुवान आउँदैन, मञ्चको संरचना अनुसार हामी कहिल्यै मन्त्री सांसद बन्दैनौ, त्यसैले एकताको नाम दिएर मञ्चलाई कुनै न कुनै विलय र ध्वस्त बनाउनुपर्छ भन्ने मानसिकता बोकेकाहरूको आज पराजय भएको छ ।’

national form

national form 2