धरान : कोशी प्रदेशका जिल्ला प्रहरी कार्यालयहरू मध्ये कात्तिक र मङ्सिर महिनामा झापा जिल्ला प्रहरी कार्यालय कार्य सम्पादन उत्कृष्ट घोषित भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले कार्य योजना अनुसार उत्कृष्ट कार्य गरेकोले कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले उत्कृष्ट कार्य सम्पादनको बधाई सहित प्रशंसा पत्र प्रदान गरेका छन् ।

२०८० का लागि भएको नेपाल प्रहरी कार्य योजना, वार्षिक कार्य सम्पादन सम्झौता प्रभावकारी बनाउन  कोशी प्रदेशका प्रहरी कार्यालयहरू मध्येबाट कार्तिक र मङ्सिर महिनामा झापालाई उत्कृष्ट घोषणा गरिएको हो ।

वार्षिक कार्य योजना अनुसार कार्यान्वयन गर्नु पर्ने बुँदागत विषयहरूमा प्रहरी कार्यालयहरूले कार्तिक र मङ्सिर महिना सम्म गरेका कार्यहरूको समीक्षाको आधारमा उत्कृष्ट घोषणा गरिँदै आएको छ ।

प्रदेश प्रहरी प्रमुख बास्तोलाले प्रदेश अन्तरगत रहेका अन्य प्रहरी कार्यालयहरूले समेत कार्य योजना अनुसार कार्य गरिरहेको बताउँदै आउँदा दिनमा तीव्रताका साथ निरन्तर लागिपर्न निर्देशन दिएका छन् ।