विराटनगर : कोशी प्रदेशका कृषि क्षेत्रबाट उत्पादित दुग्धजन्य पदार्थ बङ्गलादेश निकासीको ठुलो सम्भावना भएपनि अत्यधिक भन्सार शुल्कका कारण निर्यात हुन सकिरहेको छैन । यस कारण पनि दुग्ध उत्पादक कृषकहरूले उचित मूल्य पाउन सकेका छैनन् ।

प्रदेशका मुख्यमन्त्री केदार कार्कीले भन्सार शुल्कका कारण विद्यमान गतिरोधलाई अन्त्य गरेर प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बङ्गलादेश निकासीका लागि पहल थालेका छन् ।

बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँग बुधवार फोन संवाद गरी मुख्यमन्त्री कार्कीले प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

नेपालबाट दुग्धजन्य पदार्थको निकासीमा बङ्गलादेशमा ७८ प्रतिशत भन्सार तोकिएकाले प्रदेशबाट दुग्धजन्य पदार्थ उत्पादकद्वारा निर्यात हुन सकिरहेको छैन । 

मुख्यमन्त्री कार्कीले दुग्धजन्य पदार्थ निकासी नहुँदा प्रदेशमा ‘मिल्क होली डे’को अवस्था सिर्जना हुने अवस्था छ । यहाँ उत्पादित घ्यू, नौनी कुहिने अवस्थामा पुगेको कुरा राजदूत भण्डारीले अवगत गराए ।

प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा दूध डेरी सञ्चालकहरूले पछिल्लो समय किसानसँग दूध खरिद परिमाण घटाएका छन् । डेरीवालले किसानलाई एक वर्षदेखि दूधको भुक्तानी गर्न सकेका छैनन् ।

विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न नसकेको आयोजना प्रमुख परमेश्वर चौधरीले बताए ।

उनका अनुसार किसानले दूध उत्पादन बढाएका छन् भने अर्कोतिर उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानहरूलाई गत: जेठ महिनादेखि नै दूधको भुक्तानी गर्न सकेको छैन ।

मुख्यमन्त्री कार्कीले बङ्गलादेशका लागि नेपाली राजदूत भण्डारीलाई दुग्धजन्य पदार्थमा बङ्गलादेश सरकारले लगाएको चर्को भन्सार घटाउन र दुग्धजन्य पदार्थ निकासीका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

फोन संवादमा राजदूत भण्डारीले बङ्गलादेशको ‘कमर्शियल कमिटी’मा निर्णय गराएर दुग्धजन्य पदार्थको भन्सार दर घटाउन पहल गर्ने आश्वासन दिएको मुख्यमन्त्री कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले दुग्धजन्य पदार्थ उत्पादक सहितको टोली बङ्गलादेश गएर भएपनि दुग्धजन्य पदार्थ निकासी गरेर किसानको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।