विराटनगर : मोरङ र सुनसरीमा बग्ने केशलिया र बुढिखोला किनार करिडोर निर्माणको डिपीआर तयार भएको छ । करिडोर दुहबी नगरपालिका, वुढीगंगा, बर्जू गाउँपालिका हुँदै विराटनगर महानगरपालिका सम्म पुग्नेछ ।

करिडोर परियोजनाको लागत १ अर्ब ३२ करोड रहेको अनुमान गरिएको छ । आगामी ३ वर्षमा पुरा हुने लक्ष्य राखिएको परियोजनाले दुहबी देखि विराटनगर रानीको भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण हुनेछ । सडकका लागि खोलामा बाँध निर्माण गरी सौन्दर्यीकरण गरिने योजना छ ।

कोरिडोरको अध्ययन प्रतिवेदन बिहीबार कोशी प्रदेश सरकारलाई बुझाइएको छ । उक्त अवसरमा मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनाश नभई विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेको बताए ।

सोही अवसरमा मुख्यमन्त्री कार्कीले परियोजना अन्तर्गत नदीमा बाँध निर्माण गर्ने कार्यको बिहीबारै देखी सुरु भएको घोषणा समेत गरे ।

उनले केशलिया-वुढिखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदनमा यस क्षेत्र भएर बग्ने केशलिया वुढीखोला नदीको सौन्दर्यीकरण एवं विकासले यस क्षेत्रका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताए ।

करिडोर निर्माणले बर्जू गाउँपालिकामा  निर्माण हुने विशेष आर्थिक क्षेत्र सेजमा सहज पहुँचले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने मुख्यमन्त्रीको भनाई छ । उनले सरकारले समृद्धिको पाइला चाल्न जनताको पैसाको सही ठाउँमा सदुपयोग गर्ने अठोट गर्दै प्रदेशको १३७ पालिकाका जनताको जीवनस्तर उकास्ने कार्यमा लागेको बताए ।

अध्ययन प्रतिवेदन महेन्द्र सुब्बा र प्रशान्त मल्लले तयार गरेका हुन् । स्विस सहयोग नियोगको सहयोगमा तयार गरिएको उक्त प्रतिवेदन राजीव उपाध्यायले मुख्यमन्त्री कार्कीलाई हस्तान्तरण गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउत, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठ उपस्थित थिए ।

उनीहरूले करिडोर निर्माणले उद्योग स्थापना एवं विराटनगर विमानस्थलको धावनमार्ग विस्तारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

badh nirmar 2

Mukhyamantri karki 2