धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य विकास भाटीले आफूले आवेशमा आएर पत्रकार रश्मि प्रधानलाई दुर्व्यवहार गरेकोमा इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लको रोहबरमा क्षमा याचना गर्दै आगामी दिनमा पुनः कसैसँग यस्तो व्यवहार नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

पत्रकार प्रधान र भाटी सहित आज बिहान इलाका प्रहरी कार्यालयमा नेपाल पत्रकार महासङ्घका सभापति जनकऋषि राई सहित पूर्व सभापतिहरू तथा नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नारायण सुवेदी नेकपा मओवादी केन्द्रका जिल्ला सदस्य फोक्वाहाङ सुब्बा (चोत्लुङ), जसपा नगर अध्यक्ष ताजुब लिम्बु, राप्रपाका लक्ष्मण बस्नेत सहितको उपस्थितिमा कार्यपालिका सदस्य भाटीले माफी मागेका हुन् ।

पत्रकार रश्मि प्रधानले उपमहानगरपालिकाको जिम्मेवार कार्यपालिका सदस्यबाट क्षमा याचना सहित अब आइन्दा जुनसुकै अवस्थामा पनि जो कसैलाई पनि दुर्व्यवहार नगर्ने महिला, पत्रकार, सञ्चारकर्मीप्रति सम्मानको भावना राख्ने प्रतिबद्धता प्रकट गरिएकोले माफी दिँदै सद्भावपूर्वक विवादले समाप्त गर्न राजी भएको बताइन् ।

धरान उपमहानगरपालिकाले पब्लिक हाई स्कुल मैदानमा लगाएको 'धरान डे' मेलाका लागि टेण्ट हाउसले पण्डाल बनाउँदै गरेको बेला गत: सोमवार दिउँसो समाचार सङ्कलन गर्न पत्रकार प्रधान हाई स्कुल मैदान पुगेको बेला कार्यपालिका सदस्य भाटीले गाली गलौजको भाषामा मोबाइल माग्दै दुर्व्यवहार गरेका थिए ।

घटना भएको २४ घण्टामा पनि भाटीले दुर्व्यवहार गरेको प्रति क्षमायाचना नगरेपछि पत्रकार प्रधानले मङ्गलवार कार्यालय समयमा इलाका प्रहरी कार्यालयमा कानुनी कारबाहीका लागी लिखित उजुरी दिएकी थिइन् । पत्रकार प्रधान नेपाल पत्रकार महासङ्घकी सदस्य र ‘कपुरी न्युज’ संवाददाता हुन् ।

प्रहरीमा उजुरी दिएपछि बिहीबार धरानका राजनीतिक दलहरूको मध्यस्थतामा नेपाल पत्रकार महासङ्घ कार्यालयमा पत्रकारजन्य सङ्गठनहरूका प्रतिनिधि, पत्रकार महासङ्घका पदाधिकारीको उपस्थितिमा पत्रकार प्रधान र कार्यपालिका सदस्य विकाश भाटीको दुर्व्यवहारको विषयमा छलफल भई क्षमायाचना गर्ने र क्षमा दिएर विवादलाई सहमतिमा टुङ्ग्याउने सहमति भएको थियो ।

bikash bhati maafi 2