धरान : धरान स्थित भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालयद्वारा आज शनिवार आयोजित स्वास्थ्य शिविरमा १९२ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।

स्वास्थ्य परीक्षण शिविरकै अवसरमा भएको वृहत् रक्तदान कार्यक्रममा ३०४ प्रिन्ट रगत सङ्कलन भएको छ । कार्यालयद्वारा यसपालि आयोजन गरिएको यो तेस्रो रक्तदान कार्यक्रम हो ।

पेन्सन वितरण कार्यालयले विराटनगर स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालको संयोजकत्वमा महिलाहरूको पाठेघर तथा स्तनमा हुनसक्ने क्यान्सरको स्वास्थ्य समस्या परीक्षण गर्न शिविरको आयोजना गरेको हो ।

शिविरमा १९२ महिलाहरूले पाठेघर र स्तन सम्बन्धी स्वास्थ्य समस्या परीक्षण गराएको कार्यालयका प्रभारी अधिकारी मेजर भरत कनोजियाले बताए । शिविर तथा रक्तदानको औपचारिक कार्यक्रममा धरान उपमहानगरपालिका उपमेयर अइन्द्र विक्रम बेघा प्रमुख अतिथि थिए ।

कार्यक्रममा भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारको ठुलो उपस्थिति थियो । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका साथै सामाजिक सङ्घ संस्थाहरूको कार्यक्रममा सहभागिता थियो । रोटरी क्लब, लाइन्स क्लब, महिला भूपू समिति, महिला सञ्जाल धरान, सत्य साई संस्था, ब्रह्म कुमारी, सुनसरी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू उपस्थित थिए ।

पूर्व सांसद मिना सुब्बा, इलाका प्रशासन धरानका अनुप घिमिरे, इलाका ट्राफिक प्रहरी उपरीक्षक सरोज पौडेल, राष्ट्रिय अनुसन्धानका डिआईजी किशोर श्रेष्ठ, सशस्त्र प्रहरीका डिएसपी बुढी नारायण महर्जन, इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नवराज मल्ल, जिल्ला ट्राफिक प्रहरी निरीक्षक सुवास केसी, बिपी प्रतिष्ठानका डा. राजीव महर्जन, हात्तीसार केन्द्रीय प्रविधि क्याम्पसकी सहायक क्याम्पस प्रमुख बबिता अधिकारी, महेन्द्र क्याम्पस प्रमुख चन्द्र कुमार राई, विराट मेडिकल कलेज ब्लड बैङ्क प्रमुख डा. विपिनको उपस्थिति थियो ।

pension-paying-blood-donatipension-paying-group-3