धरान : सुनसरी उद्योग वाणिज्य सङ्घले ४० औँ साधारण सभाको अवसरमा आज सोमवार धरानका २ पत्रकार र २ युवा उद्योगी एवं व्यवसायीलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।

उक्त अवसरमा ‘कपुरी न्युज’ अनलाइनका प्रधान सम्पादक वरिष्ठ पत्रकार हर्ष सुब्बा सम्मानित भएका छन् । ‘व्लाष्ट टाइम्स’ दैनिक पत्रिकाका युवा पत्रकार खिलानाथ विश्वकर्मा पुरस्कृत भएका छन् ।

सोही अवसरमा युवा उद्योगी अनिल अग्रवाल ‘प्रिन्स’ र युवा व्यवसायी सुनिल श्रेष्ठ सम्मानित भएका छन् । अग्रवाल हनुमन्ता औद्योगिक ग्रुपका सञ्चालक हुन । उनको उद्योगले सैयौंलाई रोजगारी दिएका छन् भने प्रशासनिक कार्यमा धरानको जनशक्तिलाई प्राथमिकता दिएका छन् ।

युवा व्यवसायी सुनिल श्रेष्ठले पारिवारिक व्यवसायलाई निरन्तरता दिदैं धरानमा पेय पदार्थको थोक बजारमा सगुन ट्रेडर्सको प्रतिष्ठालाई निरन्तरता दिएका छन् । ट्रेडर्स उनका पिता स्वर्गीय दिलकृष्ण श्रेष्ठले स्थापना गरेका हुन ।

सम्मानित पत्रकार हर्ष सुब्बा धरानमा चार दशक बढी समय देखी क्रियाशील पत्रकारिता गरिरहेका छन् । कान्तिपुर दैनिकको विराटनगर स्थित पूर्वाञ्चल संस्करणका संयोजक उपसम्पादक रही सकेका उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट २ लाख रुपैयाँ पुरस्कार सहित ‘वरिष्ठ पत्रकार सम्मान’पाइसकेका छन् ।

‘व्लाष्ट टाइम्स’ दैनिक पत्रिकाका संवाददाता खिलानाथ विश्वकर्मा पछिल्लो समय धरानमा देखिएका चर्चित पत्रकार हुन । उनले धरानको आर्थिक क्षेत्रका खोजमूलक, विश्लेषणात्मक समाचार लेखनमा आफूलाई अव्वल साबित गर्दै आएका छन् । उपमहानगरपालिकाको आर्थिक गतिविधि र विवेचनामा पछिल्लो समय उनको गहकिलो रिपोर्टिङ गर्दै आएका छन् । पत्रकारद्वयलाई ११/११ हजार रुपया पनि प्रदान गरिएको छ ।

सम्मानित र पुरस्कृतहरूको चयनका लागि सङ्घको वरिष्ठ उपाध्यक्ष गोपाल श्रेष्ठको संयोजकत्वमा रामस्वरुप शर्मा र सरोज श्रेष्ठ सहित ३ सदस्यीय समिति गठन भएको थियो । समितिका सदस्य पूर्व अध्यक्ष सरोज श्रेष्ठले उनीहरूको योगदानका बारेमा चर्चा गरेका थिए ।

Editor-in-chief-harsha-subb