विराटनगर : सङ्घीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको छ । यही माघ १५ गते भित्र प्रहरी प्रदेश सरकार मातहत आउने भएको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अनुगमनका क्रम सोमवार मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिँदै मुख्यमन्त्रीले उक्त कुरा बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दहालले माघ १५ गतेभित्र प्रहरी समायोजन गरी प्रदेश सरकार मातहत दिने जनाएका छन् ।’

उनले प्रदेश प्रहरी प्रदेश सरकारको मातहत आउने भएकाले पूर्वतयारमा जुट्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रदेशमा आएपछि त्यसको सञ्चालन, सरुवा, बढुवाको विधि निर्माण गरेर पूर्वतायरीमा लाग्नुको विकल्प नभएको मुख्यमन्त्रीले बताए । उनले भने, ‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रूपमा जोडिएको मन्त्रालय भएकाले जनतामा महसुस हुने गरी काम गर्नुहोस् ।’

विपद् जोखिम क्षेत्रको नक्साङ्कनको काम चाँडो सकेर विपद् व्यवस्थापनको अगाडि बढाउन जोड दिँदै मुख्यमन्त्रीले भने, ‘ नक्साङ्कन पछि हामीले त्यस क्षेत्रका नागरिकलाई विपद् आउनु पूर्व नै सूचित गर्न सकिन्छ । वस्तिलाई व्यवस्थापन गर्न सकिन्छ । विपद्का बेला आत्तिने होइन पूर्वतयारमा जुट्ने हो ।’

मन्त्रालयका कर्मचारीले प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको नक्साङ्कन एकीकृत गर्ने काम भइरहेको जानकारी दिए । बाँकी जिल्लाको अब चाँडै नक्साङ्कनको काम अगाडि बढाउने तयारी रहेको मुख्यमन्त्रीलाई अवगत गराए ।

मुख्यमन्त्रीले ट्राफिक सप्ताह होइन, सधैँ ट्राफिक अभियान चलाउन र सडकमा जोडिएका सिसि क्यामेराहरूको प्रभावकारी अनुगमन गर्न निर्देशन दिए । लागूऔषध नियन्त्रणमा गम्भीर भएर काम गर्न जोड दिँदै उनले भने, ‘मन्त्रालय मातहत कानुन पनि रहेकाले जुनसुकै विधेयक निर्माण गरेपछि पटकपटक पढेर मात्रै मन्त्रिपरिषद्मा लैजानु पर्छ ।’