इटहरी : पृथ्वीनारायण साहको ३०२ औँ जन्म जयन्तीको अवसरमा भव्य कार्यक्रम हुने भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह समितिले इटहरीमा सांस्कृतिक झाकी सहितको कार्यक्रम गर्न लागेको हो ।

लाखे, च्याब्रुङ, डम्फु नाच लगायत नेपाली सेना र सशस्त्र प्रहरी बलको विभिन्न सांस्कृतिक झाकी र र्‍याली सहित कार्यक्रम भव्य हुने आयोजक समितिका संयोजक ज्ञानेन्द्र दाहालले जानकारी दिए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डाक्टर जगमान गुरुङलाई प्रमुख वक्ताको रूपमा निमन्त्रणा गरिएको उनले बताए । संस्कृतिविद् गुरुङले नेपाल एकीकरण र त्यसको सामाजिक सांस्कृतिक प्रभाव बारे बोल्ने भएका छन् ।

समितिले सोही अवसरमा विगतमा जस्तै विभिन्न विद्यालयमा वक्तृत्वकला कार्यक्रम आयोजना गरेको थियो । विद्यालय स्तरीय प्रतियोगितामा २४ र कलेज स्तरमा १४ जना विद्यार्थीले सहभागिता जनाएका थिए । "नेपाल एकीकरणमा पृथ्वीनारायणको योगदान" शीर्षकको वक्तृत्वकला प्रतियोगितामा दुवै तर्फ प्रथम भएका एकएक जना विद्यार्थीले कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।

१२ वर्ष देखी इटहरीमा सुरु भएको एकता दिवस मनाउने कार्यक्रम पछिल्लो समय भव्य बन्दै गएको प्राध्यापक डाक्टर बद्री विशाल पोखरेलले बताए । सुरुमा राजावादीको आरोप लागेपनि नेपाल र नेपालीको इतिहास सम्झाउने यो कार्यक्रम निक्कै महत्त्वपूर्ण रहेको उनको बुझाइ छ ।

कार्यक्रम इटहरीको पश्चिम लाइन टेम्पु स्ट्यान्डमा हुने भएको छ ।