वराहक्षेत्र : आज माघ १ गते मकर स्नान गर्न तिर्थालु वराहक्षेत्रधाम स्थित कोकाहा कौशिकीको सङ्गममा घुइँचो लागेको छ ।

माघ १ गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । सूर्य उत्तरायण हुन्छ र देवताहरू जागृत हुने भएकाले ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा अरू बेलाका भन्दा हजार गुणा बढी पुण्य मिलने पण्डित योगश भण्डारीले बताए ।

उनी भन्छन्, 'यस दिन वराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइने छ । यस दिन वराहक्षेत्र स्थित कोकाहा कौशिकीमा स्नान गरे विगतका गरेको गल्तीबाट मुक्ति र ध्यान भइने मान्यता रहेको छ ।'

शरीरमा भएका लुतो, खटिरा जन्य बस्तु हराएर जानेछन् भने शुद्ध मनले स्नान गरे वराह भगवानको दर्शन गरे सोचेका कुरा पूरा हुने जनविश्वास र किमदन्ति समेत रहेको छ । त्यस कारण मेला भर्न, मकर स्नान गर्न नेपाल बाहिरबाट पनि तिर्थालुहरू आउने गर्दछन् । माघे मेलामा कोकाहा कौशिकीको सङ्गम स्थलमा गएर स्नान गर्ने परम्परा रहेको छ ।

माघ १ गते वराहक्षेत्रधामको कोकाहा कौशिकीको सङ्गममा स्नान गर्न देश विदेशबाट भक्तजन आएको संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए ।

सनातन काल देखि स्नान गर्ने पर्वको रूपमा मनाउने माघे मेलाको अवसरमा नदीहरूका सङ्गम स्थलहरूमा धार्मिक मेला लाग्ने गर्दछ । सोही अवसरमा हिन्दु धर्मका प्रमुख चारधाम मध्ये एक मानिएको धर्तीको पहिलो तीर्थ वराहक्षेत्र धाममा लाग्ने माघे सङ्क्रान्ति मेला संसारमै प्रसिद्ध छ ।

मकर स्नानसँगै मेलामा स्थानिय क्षेत्रमा उत्पादित बस्तुसङै होटेल, प्रसाद, फलफूल, तरुल, बदाम, सुन्तला जस्ता बस्तुहरूको समेत व्यापार बढ्ने छ । माघ सङ्क्रान्तिका दिन लाग्ने माघेमा मेला तरुल, सुठुनी, बदाम, सुन्तला जस्ता वराहक्षेत्रसँग जोडिएको धनकुटाको सुन्तला, सुर्यकण्डका हर्दी, अदुवा जस्ता बस्तुहरू आगन्तुकको रोजाइमा पर्ने संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।

Maghe Sankranti 2

Maghe Sankranti 3