धरान : धरानका मैथिल भाषी मधेसी समुदायले माघे सङ्क्रान्तिको दिन सोमवार तिला ‘सक्राईत’मा खिचडी उत्सव मनाएका छन् ।

सोही अवसरमा धरानका मधेसी गरिब, पिछडिएका परिवारको बालबालिकाको हितका लागि १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिने घोषणा गरिएको छ ।

नेपाल वैश्य युवा सङ्घका नगर अध्यक्ष विजयकुमार साहले व्यक्तिगत रकमबाट उक्त कोष स्थापना गर्ने घोषणा गरेका हुन । स्वर्गीय बुवा रामजिप्रसाद साह र आमा कलाबती देवीको स्मृतिमा अक्षयकोष स्थापना गर्ने उनले बताए ।

कोषबाट मधेसी साजका गरिब, पिछडिएका परिवारको बालबालिकाको शिक्षा तथा विवाह खर्च जुटाउन नसक्नेहरूलाई आवश्यकता अनुसार आर्थिक सहयोग गरिने छ ।

खिचडी उत्सव वैश्य युवा सङ्घद्वारा आयोजना गरिएको हो । मैथिली भाषीहरूले माघे सक्रान्तीलाई तिला सक्राईतको रूपमा मनाउँछन् । सोही अवसरमा धरानमा पहिलो पटक शुभकामना आदान प्रदान चियापान आयोजना गरिएको हो ।

उक्त अवसरमा प्रदेश सांसद रमेशकुमार बस्नेत सहित सबै सहभागीले खिचडी उत्सवको ब्यानर पढेर  उद्घाटन गरिएको थियो । वैश्य युवा सङ्घका केन्द्रीय अध्यक्ष दिलीप चन्द्र साहुले नेपालमा वैश्य समुदाय धेरै रहे पनि ओझेलमा परेको बताए ।

प्रदेश सांसद यशोदा कायस्थ बहुसांस्कृतिक देश नेपालमा सबै समुदायलाई आफ्नो संस्कृति खुला रूपमा मान्ने अधिकार भएको बताइन्। धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघाले स्थानिय सरकार सबै भाषा, संस्कृतिको संरक्षण गर्न प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा वडाध्यक्षहरू वडा १ का यज्ञमणि भट्टराई, वडा ४ का धनबहादुर राई, वडा ५ का मनप्रसाद लिम्बू, वडा ११ का लोकेन्द्र फागो, वडा १४ का कृष्ण भट्टराई, वडा १६ का मुरारी भट्टराई उपस्थित थिए ।

मैथिली भाषी मधेसी समुदायका अगुवाहरू, बुद्धिजीवी प्राध्यापकहरू, व्यवसायीहरूको उपस्थिति रहेको उत्सवमा कार्यक्रम आयोजना गर्न सहयोगदाताहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।