धरान : मुन्धुममा आधारित प्रकृति पूजक लिम्बु समुदायका जिल्लाहरू स्थित संस्थागत, सांस्कृतिक, धार्मिक स्थलहरूको शुद्धीकरणमा किरात याकथुङ चुम्लुङले पछिल्लो समय विशेष ध्यानाकर्षण गराई रहेको छ ।

चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनका अनुसार विभिन्न धार्मिक प्रभावमा परी संस्थागत भवन, सांस्कृतिक स्थलमा मुन्धुमी दर्शन बाहेकका असान्दर्भिक भौतिक निर्माण हुनसक्ने भएकोले शुद्धीकरणमा अभियान चलाइएको हो ।

उनले भने, ‘यसको सकारात्मक परिणाम पनि आएको छ ।’ मोरङको उर्लाबारी राजघाट स्थित सामाजिक सांस्कृतिक गतिविधि स्थल चुम्लुङ हिममा शिवजीको मूर्ति राखेर धार्मिक र असान्दर्भिक त्रुटि गरिएको थियो । त्यसमा सुधार गरिएको उनले बताए ।

सामाजिक क्रियाकलापको केन्द्रमा मुन्धुमी धर्षणसँग मेल नखाने मूर्ति राखिनुको अर्थ नभएकोले ससम्मान अन्यत्र पुनर्स्थापना गरी सच्याइएको छ । पछिल्लो पटक चुम्लुङको ११ औँ महाधिवेशनको क्रममा नयाँ आएको नेतृत्वबाट पहल भएपछि शुद्धीकरण भएको अध्यक्ष येक्तेनले बताए ।

ऐतिहासिक गल्तीलाई शुद्धीकरण गरी नयाँ सङ्घीय समिति, मोरङ जिल्ला समिति र वर्तमान उर्लाबारी कियाचु नगर समितिबाट चुम्लुङ हिममा सिलाम सक्मा स्थापना गरेको छ । उक्त कार्यले सुधार हुन बाँकी अन्य संस्थागत स्थानमा निकट भविष्यमा शुद्धीकरण गर्ने उदाहरण स्थापित गरेको अध्यक्ष येक्तेनले बताए ।