वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले हात्तीको आक्रमणबाट मृत्यु भएका भिमबहादुर बिस्टको परिवारलाई राहत सहयोग उपलब्ध गराएको छ । 

शुक्रवार बिस्टको मृत्यु भएको ९ औँ दिनको दिन घरमै पुगेर नगरपालिकाले श्रद्धाञ्जली अर्पण गर्दै नगद पच्चिस हजार राहत स्वरूप परिवारलाई प्रदान गरेको हो । नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुवार र प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्लले परिवारजनलाई श्रद्धाञ्जली पत्र र नगद हस्तान्तरण गरेका थिए ।

वराहक्षेत्र-५ सिमवरनाका बिस्टको पौष २६ गते स्थानिय वनबाट घास लिएर घर तर्फबाट आउँदै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । हात्तीको आक्रमणबाट मृत्यु भएका बिस्टको परिवारलाई सहयोग स्वरूप नगद सहयोग गरिएको नगर प्रमुख कार्कीले बताए ।

शुक्रवार नै वडा नं.५ को कार्यालयले समेत बिस्टको परिवारलाई श्रद्धाञ्जली प्रदान गरेको छ । वडा अध्यक्ष रोहित काफ्ले, तथा वडा सदस्यहरूले बिस्टको परिवारलाई श्रद्धाञ्जली पत्र हस्तान्तरण गरेका थिए ।

मृतक बिस्टको परिवारमा श्रीमती र चार छोरा-बुहारी, ३ छोरी-ज्वाइँ तथा ४ जना नाति ४ जना नातिनी रहेका छन् । परिवारलाई थप क्षतिपूर्तिका लागि पहल र प्रक्रिया अगाडि बढेको नगर प्रमुख कार्कीले बताए ।

hatti akraman shradhanjali 2