धरान : कोशी नहरमा छोराछोरी सहित हाम्फाल्दा डुबेर दुवैको मृत्यु भएको घट्नामा बाँचेकी उपचार गराई रहेकी अस्पतालबाट फरार आमालाई प्रहरीले १० वर्ष पछि इलाका प्रहरी कार्यालय महेन्द्र नगर चक्रघट्टीले पक्राउ गरी घट्नाको अनुसन्धान सुरु गरेको छ ।

घटना २०७० असार १७ गते बिहान ७ बजेको हो । साबिक वराहक्षेत्र गाविस वडा ६ हालको वराहक्षेत्र नपा २ जव्दी चतरा झुम्का नहरमा बस्ने लक्ष्मी प्रसाद भट्टराईकी ३३ वर्षीय श्रीमती राधिका भट्टराई ३ वर्षको छोरा सुजन भन्ने टिका भट्टराई र १ वर्षकी छोरी भूमिका भट्टराईलाई साथमा लिई नहरमा हामफालेकी थिइन् ।

घट्नामा दुवै बालबालिकाको नहरको पानीमा डुबेर मृत्यु भएको थियो । आमा राधिका भट्टराईलाई घाइते अवस्थामा उद्धार गरी वीपी प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा राधिका अस्पतालैबाट फरार भइन् ।

अस्पतालबाटै फरार रहेकोले राधिका विरुद्ध प्रहरीले सुनसरी जिल्ला अदालतमा ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको थियो । अदालतबाट पक्राउ आदेश पत्र पाएपछि प्रहरीले राधिकालाई खोजतलास गरे पनि फेला पार्न सकेको थिएन ।

इलाका प्रहरीमा फरार सूचिमा रहेकी राधिका हुलिया बदलेर लुकिछिपी बसेको अवस्थामा १० वर्ष पछि पक्राउ गर्न प्रहरी सफल भएको इलाका प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार राधिका वराहक्षेत्र नगरपालिका-२ जब्दिमै हुलिया परिवर्तन गरेर बसेकी छन् भन्ने सूचना पाएपछि पुष ५ गते पक्राउ गरिएको हो । उनलाई सुनसरी जिल्ला अदालतबाट ५ दिन म्याद थप भई घट्नाको विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।