इटहरी : भौतिक पूर्वाधार निर्माण कार्यको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला इटहरीमा सुरु भएपछि पछिल्लो २ महिना देखी प्रयोगशालामा परीक्षण गराउन आउनेहरूको भिड नै लाग्न थालेको छ । प्रयोगशाला इटहरी उपमहानगरपालिकाले स्थापना गरेको हो ।

उपमहानगरपालिकाको भौतिक निर्माण, अन्य योजनाहरू सुरु हुनु अघि निर्माण सामाग्रीको गुणस्तर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । त्यस बाहेक निजी र सरकारी ठेक्का पट्टाको निर्माण कार्यको परीक्षण गराउनेहरूका कारण भीड बढेको हो ।

यसअघि भौतिक निर्माण गुणस्तर परीक्षण गर्न धरान वा विराटनगर पुग्नु पर्थ्यो । यसबाट निजी निर्माणकर्ता, ठेकेदारहरूले समस्या भोग्दै आएका थिए ।

इटहरी-१२ मा निर्माणाधीन ढलको उपभोक्ता समिति सदस्य शिवकुमार सरदारले भने, ‘ड्रेन निर्माणको गुणस्तर बारे टेन्सन छ ।’ उपमहानगरपालिकाको पूर्वाधार प्रयोगशालामा आएका उनलाई निर्माणमा प्रयोग भइरहेको सामाग्रीको गुणस्तरको रिपोर्ट कस्तो दिने हो उनको चिन्ता हो ।

इटहरी-२ सहरी विकास मन्त्रालयले बनाइदिन लागेको माया घर नेपालको भवनको ठेकेदार पाथीभरा कन्स्ट्रक्सन प्रालिका सुवास न्यौपानेले भने, ‘उप महानगरपालिकाले प्रयोगशाला सुरु गरेपछि सजिलो भएको छ, धरान विराटनगर जानुपर्ने काम हिजोआज इटहरीमै हुन्छ ।’

उपभोक्ता समिति, निर्माण समिति, निजी क्षेत्रका निर्माणको क्षेत्रमा काम गर्नेहरू कन्स्ट्रक्सन कम्पनीका सञ्चालकहरू गुणस्तर परीक्षणका लागि इटहरी उपमहानगरको पूर्वाधार प्रयोगशालामा आउने गरेका छन् ।

उपमहानगरको हरेक योजना तथा आयोजनामा प्रयोग हुने बालुवा, गिटी, सिमेन्ट, डन्डी लगायत अन्य विभिन्न प्रकारका सामाग्रीहरूको परीक्षण गर्न सक्ने गरी आधुनिक औजार उपकरण सहितको भौतिक पूर्वाधार प्रयोगशालामा भएको शाखा प्रमुख इन्जिनियर आशिषराज शर्मा खत्वेले बताए ।

उनका अनुसार उपमहानगरपालिकाको २० वटै वडा तथा नगरबाट हुने सडक, भवन निर्माणमा प्रयोग भइरहेका सामाग्रीको नमुना सङ्कलन गरी परीक्षण गरिन थालिएको छ । अनुगमन, गुनासो वा उजुरी आएमा फिल्डमै पुगेर नमुना ल्याएर परीक्षण गरिन्छ ।

इन्जिनियर शर्माले भने, ‘इटहरीका मात्रै नभएर पायक पर्ने छिमेकी पालिका तथा जिल्लाबाट पनि परीक्षणका लागि इटहरीमा आउने गरेको छ ।’ सुन्दरहरैँचा, वराहक्षेत्र, पहाडी नगरपालिकाहरूबाट गुणस्तर परीक्षण गराउन आउने गरेको हो ।

प्रयोगशाला पुलचोक इन्जिनियरिङ क्याम्पसबाट अनुमति लिएर सञ्चालन भएकाले पूर्ण विश्वसनीय हुने इन्जिनियर शर्माको भनाई छ । उनले भने, ‘अरू ठाउँहरूले पनि पुलचोक क्याम्पसबाट नै अनुमति इजाजत लिएर प्रयोगशाला स्थापना गर्ने हो ।’

इटहरी उपमहानगरपालिकाले मङ्सिर देखी पूर्वाधार प्रयोगशालाबाट सेवा दिन थालेको हो । हाल सम्म २७० जनालाई गुणस्तर परीक्षण रिपोर्ट दिएको छ । 

खाद्य प्रयोगशाला पनि सुरु

इटहरी उपमहानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षण गर्न खाद्य प्रयोगशाला पनि सुरु गरेको छ । बजार अनुगमनमा हेरेर मात्र जाँच गरिन्छ । आँखाले नदेख्ने खाद्य वस्तुमा गरिएको मिसावटको परीक्षण अनुगमनलाई प्राथमिकतामा राखेर ल्याबमा परीक्षण गर्न खाद्य प्रयोगशाला सुरु गरेको हो ।

अनुगमनमा शङ्का लागेका वस्तुको नमुना प्रयोगशालामा परीक्षण गरी गुणस्तर पत्ता लगाउने खाद्य निरीक्षक अनु अर्यालले बताइन् । उनका अनुसार पहिलो चरणमा ठोस तथा तरल खाद्य वस्तुको गुणस्तर जाँच गरेपछि खाद्यवस्तुको तौल, बालुवा ढुङ्गा र दूध तथा तेल जस्ता तरल पदार्थका मिसावट परीक्षण गरिन्छ । 

खाद्य प्रयोगशालाले होटेलहरूमा पकाएको खानाको गुणस्तर पनि परीक्षण गर्छ । खाद्य निरीक्षक अर्यालका अनुसार नराम्रो तेलमा पकाएको खानेकुरा खुवाइने, तारेको तेलमा पकाइने, जस्ता धेरै गुनासोहरू आउने गरेको उनले बताइन् ।

‘अन द स्पट’ गुणस्तर परीक्षण मेसिन पनि ल्याउने योजना रहेको उनले बताइन् । यो मेसिन आएपछि बजार अनुगमनमा शङ्का लागेको खाद्य वस्तुको तत्काल परीक्षण गरी तत्काल रिपोर्ट दिन सकिने उनको भनाई छ ।

itahari ma prayogshala 2

itahari ma prayogshala 3