वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका चक्रघट्टीमा क्रियाशील रहेको लायन्स क्लब अफ सप्तकोसी डाईनामिकले शनिवार विपन्न परिवारको घरमा पुगेर अत्यावश्यक खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । 
स्थापना कालदेखि नै लायन्स क्लब अन्तर्राष्ट्रियको उदेश्य बमोजिम "हामी सेवा गर्छौँ" भन्ने भावले स्थापित भएको क्लबले सामाजिक क्षेत्रमा सक्रियताका साथ सेवाका कार्यक्रमहरू निरन्तर गर्दै आइरहेको छ ।
सोही अनुरूप शनिवारको एक कार्यक्रम गरी परिवार सदस्य गुमाएर शोकमा रहेको परिवार आर्थिक समस्याका कारण शुद्ध शान्तिको कामबाट उक्सिन समेत समस्या रहेको बुझेपछि क्लब मार्फत किरियापुत्रिलाई फेरफार गर्ने कपडा सहित सिरक, दैनिक उपभोग्य खाद्यान्न लगायतका सामग्री सहयोग स्वरूप प्रदान गरिएको क्लबका अध्यक्ष दुर्गानन्द दास (विक्रम)ले बताए ।
परिवारको सदस्य स्वर्गीय भएपछि काममा रहेको परिवारलाई आर्थिक अभावका कारण समस्या भएको थाहा पाएपछि क्लबका साथीहरूसँग सल्लाह गर्‍यौ र हाम्रो श्रोतले सकेसम्मको सानो सहयोग गरेको उनले बताए ।
अप्ठ्यारोमा परेको बेलामा हाम्रो सानो सहयोगले पनि परिवारलाई ठुलो राहत मिल्छ भन्ने बुझेर आकस्मिक रूपमा जाडोबाट बच्न फाइवर सिरक २ थान, चामल २५ केजी, दाल ५ केजी, आँटा ३ प्याकेट, भुजा एक बोरा, लगाउने कपडा २ सेट (२ जना किरियापुत्रिका लागि), घ्यू लगायत विविध अत्यावश्यक खाद्यान्न सहित १० हजार बराबरको सामाग्री हस्तान्तरण गरेको क्लबका संस्थापक अध्यक्ष सन्तोष चौलागाईं बताए ।
उक्त क्लबले यसवर्ष मात्रै यो कार्यक्रम बाहेक रक्तदान, विपन्न परिवारलाई खाद्यान्न वितरण, न्यानो कपडा वितरण, कपी वितरण, क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग लगायतका उदाहरणीय सेवाका कार्यक्रमहरू गरी राखेको उनले बताए ।
lions club of saptakoshi1