विराटनगर : ‘मेरी आमाले मलाई भुजा बेचेर पढाउनु भयो, आमाले पढाएकै कारण आज यो स्थानमा छु, तपाईँहरूले पनि मेरी आमाजस्तै केही न केही गरेर छोराछोरी पढाउनु, पढे भने राम्रो रोजगारी पाउँछन्, नपढे मजदुरी गर्नुपर्छ ।'
मोरङ-५ का सङ्घीय सांसद योगेन्द्र मण्डल जहदा-५ पोखरियाको मुसहर बस्तीमा अति विपन्न परिवारका मुसहर महिलाहरूलाई आफ्नो कथा सुनाउँदै थिए । बस्तीका पुरुष दैनिक मजदुरी गर्छन् । महिलाहरू बेला बेला काम गर्न जान्छन् । बालबालिका नजिकै दीनाभद्री आधारभूत विद्यालयमा पढ्छन् ।
‘जोगी सर’ भनेर मुसहर बस्तीमा लोकप्रिय सांसद मण्डल स्कुलमा पुग्दा गाउँका महिला भेला भए । दैनिक जीवनका समस्या सुनाउन थाले । उनिहरुको गुनासो सुनेपछि उनले महिलाहरूलाई आफ्नो आमा जस्तै बनिदिन जीवन कथा सुनाएका हुन् ।
सांसद योगेन्द्र मण्डललाई उनकी आमा भगनीदेवी मण्डलले भुजा बेचेर पढाएकी थिइन् । धनपालथान-२ अमाहीवरियातीबाट उनकी आमा हरेक हप्ता भुजा बेच्न विराटनगर आउँथिन् । भुजा बेच्दा हप्तामा ५० रुपैयाँ नाफा हुन्थ्यो । त्यहीँ पैसा जम्मा गरेर छोराको पढाई खर्च जुटाउँथिन् ।
योगेन्द्र काठमाडौँसम्म पुगेर स्नातक बने । पढाई सकेर योगेन्द्रले जीवन विकास समाज स्थापना गरे । समाजले लघुवित्त वित्तीय संस्था सञ्चालन गर्छ । सामाजिक अभियान पनि सञ्चालन गर्दा गर्दै उनले प्रतिनिधि सभा सांसदको चुनावमा स्वतन्त्र उम्मेदवारी दिए ।
स्वतन्त्र सांसद निर्वाचित भएपछि आफ्नो क्षेत्रमा जाँदा उनले हरेक महिलालाई आफ्नी आमाको उदाहरण दिन्छन्, र सन्तानका लागि भगिनीदेवी जस्तै बनिदिन आग्रह गर्छन् । व्यवसाय सुरुवात गर्नका लागि सहयोग गर्ने वचन पनि दिन्छन् ।
‘अहिले केही न केही गर्नुहोस्, परेवा पाल्नुहुन्छ भने पनि म बिउ पुँजी दिन्छु, पाँच हजारले परेवा व्यवसाय सुरु गर्दा हुन्छ ।’ मुसहर महिलालाई मण्डलले एकै पटक धेरै आँटेर केही हुँदैन, थोरै पुँजीले कामको सुरुवात गर्न उत्प्रेरित पनि गरे । २२ दिनमा परेवाले बच्चा उत्पादन गर्छ । परेवा पालनले परिवारको खर्च धान्ने उनको भनाई छ ।
सांसदले पाउने सुविधा मण्डलले विपन्न परिवारलाई उद्यमसँग जोड्नका लागि खर्च गरिरहेका छन् । उनले भने ‘सरकारबाट पाउने सुविधा आफ्नो लागि खर्च गर्दिनँ, जसले जिताए उनीहरूलाई खर्च गर्छु ।’ पहिलो वर्ष उनले पाएको सुविधा चुनाव क्षेत्रका विपन्नहरूको उपचार र संस्कृति जर्गेनाका कार्यमा खर्च गरे ।
पछिल्लो समय गाउँका महिलालाई उद्यमी बनाउन बिउ पुँजी वितरण गरिरहेका छन् । अबको चार वर्ष सांसदको सुविधा यसरी नै खर्च गर्ने उनले बताए । उनले भने ‘जनताले जिताएका हुन्, उनीहरूकै लागि पैसा खर्च गर्छु, ।’ उनले परेवा, कुखुरा, बाख्रा पाल्न बिउ पुँजी दिन्छन् । पशुपन्छीको रेखदेख गर्न गाउँपालिकाका प्राविधिकलाई खटाउने उनको योजना छ ।