धरान : लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर-१७ की १९ वर्षीय अनिता बैठा र विराटनगर–१६ की ३० वर्षीय सरस्वती गुरुङलाई विराटनगर-१५ बाट ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार अनितालाई १९ दशमलव ३३ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । सरस्वतीलाई सोही घटनामा संलग्न भएको आरोपमा १ थान डिजिटल तराजु सहित पक्राउ गरिएको हो ।

यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका-४ बाट ३३ वर्षीय चित्रकुमार बिकलाई २५ ग्राम ब्राउनसुगर र ५ थान मोबाइल र डिजिटल तराजु १ थान सहित इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले मङ्गलवार दिउँसो पक्राउ गरेको छ ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकाडभिट्टाको प्रहरी टोलीले मेचीनगर-६ बाट बुद्धशान्ति गाउँपालिका-५ का २२ वर्षीय स्मार्ट थेबेलाई १ ग्राम ब्राउनसुगर सहित मङ्गलवार दिउँसो पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।