इटहरी : अस्पताल जस्तो संवेदनशील ठाउँको काम ठेकेदारले अलपत्र परेको अवस्था छ । सङ्ग्रहालय, सडक, पुल लगायत पूर्वाधार निर्माणका कामहरूको ठेक्का लिएर समयमा पुरा नगर्नेहरूलाई इटहरी उपमहानगरपालिकाले कारबाही गर्न सुरु गरेको छ ।

कारबाहीको पहिलो चरणमा १४ वटा योजनाको निर्माण कार्य अलपत्र राख्ने ठेकेदारहरूलाई कालो सूचीमा राख्न स्पष्टीकरण मागेको छ । माघ १० गते १५ दिन भित्रमा स्पष्टीकरण पेस गर्न दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गरिसकेको छ ।

नगर प्रमुख हेमकर्ण पौडेलले भने, ‘एक भन्दा बढी ठेक्का लिने तर काम नगर्नेहरूलाई कारबाही गरिने छ ।’ कानुनले दिएको अधिकार प्रयोग गरी तोकिएको मितिमा स्पष्टीकरण नदिने सम्पर्कमा पनि नआउने कम्पनीलाई कारबाही हुने उनले बताए ।

इटहरी उपमहानगरपालिकाको १४ वटा योजना अहिले अलपत्र छ । त्यसको ठेक्का लिने ६ कम्पनी छन् । धेरै योजनाको ठेक्का लिने तर काम नगर्ने कम्पनी गिरी कन्स्ट्रक्सन प्रावि हात्ती वन देखिएको छ । कम्पनीले ५ वटा योजना ठेक्का पाएकोमा सबै काम आधा मात्रै भएका छन् ।

इटहरी-१४ हुलाकी सडक राधाकृष्ण मार्ग स्कुल टोल कालोपत्रे सडक योजना, इटहरी-१७ लबीपुर मझरा कालोपत्रे सडक, इटहरी-१८ जातपुर बिसनपुर सडक ग्राभेल, इटहरी-१७ र १९ बिसनपुर-अमाहा जोड्ने सडक, इटहरी-८ सतन मार्ग कालोपत्रे काम पुरा भएको छैन ।

इटहरी-१० बहुजातिय सङ्ग्रहालय प्रेरा गिरी जे।भी हात्ती वन र इटहरी-९ को इटहरी अस्पताल भवन प्रतिष्ठा गिरी जे।भी पनि गिरी कन्स्ट्रक्सनकै हुन् । ठेकेदार एकै तर कम्पनी फरक पारेर लिएको ७ वटा ठेक्काका कामै नगरी अलपत्र छ । ठेकेदार इटहरीका कुमार गिरी हुन् ।

ठेकेदार कुमार गिरीले भने समयमा भुक्तानी नपाएका कारण काममा ढिलाइ भएको बताए । उनले यो कुरा स्पष्टीकरण पत्रमा लेखेर पठाएको बताए । अर्को कम्पनी सिराहाको अङ्कित कन्स्ट्रक्सन प्राविले स्मार्ट सार्वजनिक शौचालय र इटहरी-१६ हक्राहामा बक्स पुलको काम बिचमै छाडेको छ ।

भोजपुरको अनु निर्माण सेवाले २ वटा योजनाको कामै गरेको छैन । इटहरी-२० धन पुरी मार्ग र टेङ्ग्रा खोला कोरिडोरमा रिटर्नीङ वालको ठेक्का अनुले लिएको छ । खनार प्रहरी चौकी-भानु मार्ग भारबी रोड आर वन कन्स्ट्रक्सन र घोईन्डा पुल इटहरी-१६ को योजना एम के कन्स्ट्रक्सन सिराहाले अलपत्र छाडेको छ । इटहरी-१५ भोटिया पुल ठेकेदार भैरव नारायणमा जे।भी नेपालगन्जले काम गरेको छैन ।

ठेकेदारले धोखा दिँदा २ वर्ष अघि बनिसक्नु पर्ने थारु संस्कार संस्कृति जनजातीय कला, संस्कृतिको संरक्षण, पर्यटन प्रवर्धन गर्न निर्माणाधीन सङ्ग्रहालय निर्माण बन्न सकेको छैन । १६ मङ्सिर २०७८ मा निर्माण सम्झौता भएको काम २५ असार २०७९ मा सक्नु पर्थ्यो । तर हाल सुरु अवस्थामै छ ।

अस्पतालको जस्तो अपरिहार्य काममा पनि ठेकेदारले धोखा दिएको छ । २ वर्ष अघि बनिसक्नु पर्ने १५ बेडको इटहरी अस्पताल भवन अझै निर्माण सकिएको छैन । काम ६५ प्रतिशत मात्र भएको छ । इटहरी अस्पताल अहिले पुरानो साँघुरो, जीर्ण भवनमै छ । भवन अभावमा अस्पतालले थप सेवा विस्तार गर्न सकेको छैन ।

मेडिकल सुपरिन्टेन्डेन्ट डा.गुञ्जन त्रितालले भने, ‘पर्याप्त ठाउँको अभावमा थप सेवा विस्तार गर्न सकिएको छैन ।’ भवन चाँडै सकिए अस्पतालले थप सेवा विस्तार गर्न सकिन्थ्यो भन्ने उनको भनाई छ ।

उपमहानगरपालिका गेट पूर्व स्मार्ट शौचालय बनाउन भवन तर सञ्चालनमा आउन सकेन । बाँकी काम त्यसै छाडेर ठेकेदार भागेपछि भवन अलपत्र छ । शौचालयको ठेक्का सिराहाको अङ्कित कन्स्ट्रक्सनले लिएको हो ।

इटहरी-६को मुख्य बजार भएर बग्ने टेङ्ग्रा नचभबत खोलामा वाल लगाएर कोरिडोर बनाउने र त्यसमा व्युटिफिकेशन गर्ने उपमहानगरको योजना छ । सोही बमोजिम भोजपुरको अनु निर्माण सेवा कम्पनीसँग उपमहानगरले सम्झौता गरेको थियो । तर यो काम पनि सुरु हुनै सकेको छैन ।

इटहरी अस्पताल दक्षिणको सतन मार्गमा कालोपत्रे गर्ने काम बिचमै रोकिएको छ । ठेकेदारले २१ जेठ २०७९ मै कालोपत्रे गरिसक्नुपर्ने हो । तर अहिले सम्म त्यहाँ कालो पत्रे गर्ने तयारी देखिँदैन । यहाँ केवल २४/२५ प्रतिशत मात्रै काम भएको इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले जानकारी दिए ।

इटहरी नगर स्तरीय ७ वटा सडक, पुल, ग्राभेल, कालोपत्रे अलपत्र छाडेर ठेकेदार सम्पर्कमा छैनन् । पटकपटक तागेता गर्दा पनि सम्पर्कमा नआएको इन्जिनियर जीवन घिमिरेले बताए ।