धरान : समुदायमा काँग्रेस कार्यक्रम लिएर स्थानीय नेताहरू धरान वडा २० मा पुगेपछि स्थानीय समुदायले आफ्ना समस्याहरू राखेका छन् ।

धरान-२० विष्णुपादुका तामाखाममा पर्ने जग्गा सर्दु जलाधारमा नपरेको जग्गा समेत सर्दु जलधारको नाममा रोक्का भएकोले स्थानीय बासी समस्यामा परेको पीडितहरूले काँग्रेस नेताहरूलाई समस्या निकासको लागि पहल गर्न आग्रह गरेका छन् ।

उनीहरूले कृषि क्षेत्र भएपनि कृषि अनुदान र बिउ विजनका साथै मलखाद समेत समयमा नपाएको गुनासो गरेका छन् । सडक, खाने पानी, बिजुलीको पोल व्यवस्थापनको समेत समस्या रहेको उनीहरूले गुनासो गरे ।

आज सोमबार टोडके बाट सुरु भएको समुदायमा काँग्रेस कार्यक्रम वडाका टोलहरूमा समुदायका समस्या, गुनासाहरू सुन्दै माघ २५ गते भालढुङ्गामा सम्म पुग्ने काँग्रेस प्रतिनिधि धरानका पूर्व मेयर तिलक राईले बताएका छन् । यसबिच मिलन टोल, बार्ने, देवी गाउँ, स्वारा सहित वडाको ६ ठाउँमा समुदायसँग छलफल गरिने छ ।

पूर्व मेयर राईले भने, ‘समुदायमा काँग्रेस भनेको समुदायमा पुगेर जनताको अपेक्षा, सुझाव र गुनासो सुन्नुका साथै स्थानीय स्तरका सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायका असल अभ्यासको अवलोकन गर्न हो ।’

धरानमा सुरु गरिएको कार्यक्रमहरूमा जनताले आफ्नो दैनिक जीवनका समस्याका साथै विकास निर्माणको मुद्दालाई प्राथमिकताका साथ उठाएको प्रदेश सभा १(२)का सचिव विजय घिमिरेले जानकारी दिए ।

वडा २० मा काँग्रेसका सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र तामाङ, प्रदेश सभा १(१) का सचिव राजेन्द्र राई, प्रदेश सभा १(२)का सचिव विजय घिमिरे, वडा २० का वडाध्यक्ष पदम लिम्बु, वडा सभापति इन्द्र राईको उपस्थितिमा पिपल डाँडा टोडकेमा कार्यक्रम भएको हो ।

समुदायबाट आएको गुनासो र सुझाव समाधानको लागि जिल्ला, प्रदेश र केन्द्रीय समिति मार्फत केन्द्र र प्रदेश सरकारमा आग्रह गरिने पार्टी प्रतिनिधि पूर्व मेयर तिलक राईले बताए ।

jaladhar samasya 2