धरान : पिण्डेश्वर विद्यापीठ परिसरमा नेपाल विद्यार्थी सङ्घ सुनसरीले सोमवार शङ्ख बजाउने खुल्ला प्रतियोगिता आयोजना गर्‍यो ।

पहिलो पटक भएको शङ्ख ध्वनि प्रतियोगितामा दधिराम खनालले प्रथम स्थान हासिल गरे । महेश दाहालले द्वितीय र सरोज पौडेल तृतीय  भए ।

विजेताहरूलाई नगद पुरस्कार प्रथम ५ हजार नगद, दोस्रो ३ हजार नगद र तृतीय २ हजार सहित प्रमाणपत्र प्राप्त प्रदान गरिएको छ ।प्रथम भएका खनाललाई धरान १४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले पुरस्कार रकममा रु १५०० थप गरिदिए । प्रतियोगितामा ३० जनाको सहभागी थिए ।

निर्णायकमा प्राध्यापक माधव घिमिरे, दीपक पराजुली र अम्बर ढकाल थिए।

विद्यापीठको सभाहलमा भएको प्रतियोगिता नेबिसंघ सुनसरी जिल्ला सभापति प्रमोद भट्टराईको सभापतित्वमा भएको थियो ।

शङ्ख बजाउनु धार्मिक कार्य मानिँदै आए पनि वैज्ञानिक अनुसन्धानबाट शङ्ख ध्वनिले मानिसमा सकारात्मक सोच पैदा गर्ने तरङ्ग दिने गरेको पाइएको छ। सनातन धर्ममा शङ्ख ध्वनिको ठुलो महत्त्व भएको विद्वानहरूले बताएका छन् ।

प्रतियोगितामा प्रमुख अतिथि उमेश थापाले शास्त्रमा दुई रत्नहरू मध्ये एक रत्न शङ्ख भएको बताए ।

काँग्रेस धरान नगर सभापति श्याम पोखरेलले समावेशी संस्कृतिको लागि शङ्ख बजाउने प्रतियोगिता सान्दर्भिक भएको बताए ।  नेविसंघले नयाँ थालानी गरेको बताउँदै उनले विद्मार्थीहरुले साकेला नाच्न पनि सिक्नु पर्ने सुझाव दिए ।

क्याम्पस प्रमुख काशीनाथ पौडेलले शङ्ख बजाउँदा फोक्सो स्वास्थ्य रहने र श्वासप्रश्वासको रोग नलाग्ने  ध्वनिले सकारात्मक ऊर्जा दिने बताए । कार्यक्रम सञ्चालन पिण्डेश्वर क्याम्पस नेविसंघ सभापति प्रवेश पौडेलले गरेका थिए ।

nebi-sang-2Nebi-sang-3