धरान : अनुशासन र दैनिक कार्यप्रति एकाग्रता अभिवृद्धिका लागि प्रहरीहरूलाई योग प्राणायाम र ऊर्जा ध्यान शिविरमा एक साता अभ्यास गराइएको छ । शिविरमा इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी सहित इच्छुक स्थानिय पनि योग अभ्यासमा सहभागी थिए ।  

धरान इलाका प्रहरी कार्यालयमा नै ७ दिने शिविर सञ्चालन गरी प्रहरीहरूलाई योग अभ्यासप्रति अभिप्रेरित गराइएको हो । शिविर समुदायमा प्रहरी साझेदारी कार्यक्रम अनुसार जीवन विज्ञानका कोशी प्रदेशको आयोजनामा बुधवार सम्पन्न भएको छ ।

समापनमा प्रमुख अतिथि इलाका प्रशासन धरानका प्रमुख अनोज घिमिरेले हरेक व्यक्ति अनुशासित र कार्यप्रति एकाग्र रहन दैनिक १५ मिनेट ध्यान गर्न जरुरी रहेको बताए । उनले स्मृति राणा मल्लद्वारा लिखित पुस्तक ‘सुन्दरकाण्ड’ विमोचन पनि गरेका थिए ।

शिविरमा जीवन विज्ञानका कोशी प्रदेश संयोजक केदार कार्की, जीवन विज्ञान धरान संयोजक कमला निरौला, पवित्र घिमिरेले ७ दिने योग तथा ध्यान शिविरको सहजीकरण गरेका थिए । समापन कार्यक्रम इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी नवराज मल्लको सभापतित्वमा भएको थियो ।

dharan-plice-yoga-3Police-yoga-2