इटहरी : मङ्गलवार सुनसरीको इटहरीमा एफएम/ रेडियोको सम्भावना र चुनौती बारे चर्चा भयो । कार्यक्रम प्रमुख अतिथि कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले रेडियोको कन्टेन्ट बारे चिन्ता व्यक्त गरे ।

आफूले रेडियो र टेलिभिजनमा कार्यक्रम छनौट गरेर सुन्ने तथा हेर्ने गरेको अनुभव सुनाए । कार्यक्रमको कन्टेन्ट सुन्न लायक भएपछि मात्र रेडियोको भविष्य बलियो बन्ने उनको भनाइ थियो ।

विश्व रेडियो दिवसको अवसरमा ब्रोडकास्टिङ एसोसिएसन नेपाल (बान) कोशी प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री राईले गुणस्तरमा ध्यान दिन सुझाव दिए । मन्त्री राईले मात्र हैन पत्रकार चेतन धमलाले समेत रेडियोको कन्टेन्ट कमजोर भएको रिपोर्ट प्रस्तुत गरे।

रेडियोको श्रोता र सम्भावना कमजोर नभएको तर विज्ञापन देखि कार्यक्रम सुनौँ सुनौँ लाग्ने नभएको रिपोर्टमा उल्लेख गरिएको छ । कोशी प्रदेशमा जम्मा १२६ वटा एफएम रहेको र अधिकांश बन्द हुने अवस्थामा पुगेको धमलाले प्रष्ट पारे।

रेडियो बन्द हुने अवस्थामा पुग्नुपर्ने मुख्य कारण नयाँ डिजिटल प्लेटफर्म देखि विज्ञापनको बजार कमजोर भएको उनले उल्लेख गरेका छन् । सञ्चालन खर्च महँगो हुनु, अस्वस्थ प्रतिस्पर्धा, पुरानो शैलीका कार्यक्रम, रचनात्मक कन्टेन्टको अभाव जस्ता कारण समस्या भएको रिपोर्टमा उल्लेख छ ।

त्यससँगै रेडियोलाई बिशिस्टिकृत ढङ्गले सञ्चालन गर्नुपर्ने, मर्जरको प्रक्रियामा लैजानुपर्ने, रचनात्मक कन्टेन्ट बनाउनुपर्ने तथा नयाँ प्रविधिमैत्री रेडियो बनाउन सके अझै धेरै सम्भावना बढ्ने बताइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले रेडियो सुन्न लायक बनाउन कार्यक्रम बनाउनुपर्ने बताए ।

ब्रोडकास्टिङ एसोसिएसन नेपालका कोशी प्रदेश अध्यक्ष गिरिराज भट्टराईले रेडियो नवीकरणमा देखिएको समस्या समाधान गरिदिन मन्त्रीको ध्यानाकर्षण गराए । हुलाक मार्फत सङ्घीय सरकारमा दर्ता गर्दै आएका रेडियोहरू प्रदेशमा दर्ता गराउन थालेपछि नवीकरण फेल भएको भन्दै चेतावनी आउन थालेको बताए ।