धरान : धरान रङ्गशालामा जारी हाम्रो धरान भेट्रान फुटबल कप तेस्रो संस्करणको बुधवार अन्तिम सेमिफाइनल खेलमा हाम्रो इटहरी भेट्रान १-० गोलले रारा भेट्रान क्लबलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आजको अन्तिम सेमिफाइनल खेलमा हाम्रो इटहरी भेट्रानका लिलाराम मगरले गरेको मात्र १ गोल निर्णायक बन्यो । सोही गोलले हाम्रो भेट्रानलाई फाइनल पुर्‍याएको हो ।

खेलको म्यान अफ दि म्याच पनि हाम्रो इटहरी भेट्रानका तीर्थबहादुर याक्सो घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।

निर्धारित ६० मिनेटको खेलको दोस्रो हाफको १६ मिनेटमा रारा भेट्रान क्लबका सुमन श्रेष्ठले पेनाल्टी पाए पनि उनको पेनाल्टी सुट आउट भएको थियो ।

हाम्रो धरान भेट्रान कपको विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टिमलाई ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको शनिवार हुने फाइनल खेलमा अब हाम्रो इटहरी भेट्रान र धरान भेट्रान क्लब  बिच रोचक भिडन्त हुने भएको छ ।