• सुकदेब चौधरी 

सुनसरी : सुनसरीको दुहबी न.पा. ७ अन्तरगत ग्रामीण क्षेत्रका अगुवा महिलाहरूलाई कानूनी सचेतना सम्बन्धी तीन दिवसीय तालिम बुधवार सम्पन्न भएको छ । 

दुहबी नगरपालिकाको सहयोग तथा आवाज नेपाल दुहबी सुनसरीको आयोजनामा रामगंज शाखा सिचाई भवनको हलमा सञ्चालित कानूनी सचेतना तथा मुलुकी देवानी संहिता सम्बन्धी तीन दिवसीय तालिम सम्पन्न भएको हो । 

तालिममा परिवार तथा समुदायमा देखा परको कानूनी अड्चन तथा भोगेका समस्याहरू सँग सम्बन्धित मुद्दाहरू अंशबन्डा, सम्बन्ध विच्छेद, घरेलु हिंसा, बोक्सीको आरोपमा गरिने अमानवीय व्यवहार, विवाहको परिणाम, परिवारीक सम्बन्ध, जग्गा खिचोला, गाली बेइज्जती, तथा स्थानीय पालिकामा रहेका न्यायिक समितिले हेर्न मिल्ने विवादका विषयहरूलाई समेटिएर पवित्रा चौधरी र सुकदेब चौधरीले सहजीकरण गरेका थिए । 

सो समापन कार्यक्रमका प्रमुख अतिथि तथा दुहबी नगरपालिकाका उपमेयर मुनुका पोखरेल खतिवडाले ग्रामीण क्षेत्रमा ७५-८० प्रतिशत महिलाहरू माथि विभिन्न किसिमका हिंसाहरू हुने गरेको बताइन । 

तालिममा थाहा पाएका कानूनी कुराहरू आफ्ना घर परिवार तथा समुदायमा समेत जानकारी गराई अफट्यारोमा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको समस्याका विषयमा जो कोहीले पनि न्यायिक समिति तथा दुहबी नगरपालिकाले सञ्चालन गरेको हटलाइन नम्बरमा उजुरी गर्न सक्ने उनले जानकारी दिइन । 

परेको उजुरीको सम्बन्धमा तत्काल न्यायिक समितिले एक्सन लिई घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउने तथा पीडितलाई न्यायको अनुभूत गराउन पहल गर्ने बताइन । 

कार्यक्रमका अतिथि वक्ताहरूले सहर केन्द्रित विभिन्न सचेतना मूलक कार्यक्रम अब गाउँ लक्षित भई ग्रामीण क्षेत्रका महिलाहरूलाई कानुनको विषयमा जानकारी गराउँदा सानातिना मुद्दाहरू गाउँ मै वा न्यायिक समिति मार्फत मेलमिलाप गर्न सहज हुने धारणा राखेका थिए । 

कार्यक्रममा ग्रामीण क्षेत्रका अगुवा सहित ३० जना महिलाहरूको उपस्थिति रहेको थियो ।