धरान : रङ्गशालामा जारी तेस्रो सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिताको बिहीबार भएको सेमिफाइनल खेलमा टाइब्रेकरबाट धरान १७ ले धरान १३ लाई ४-३ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ८० मिनेटको खेल अवधिभर दुवै टिमले थुप्रै गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको हो ।

ट्राइब्रेकरमा धरान १७ का मिलन राई, तपन कार्की, प्रज्वल थापा, सुसन राईले गोल गरे । कृष्ण राईको प्रहार आउट भएको थियो ।

खेलको म्यान अफ दि म्याच धरान १७ का प्रज्वल थापा घोषित भए । उनले नगद २ हजार सहित जिएफएक्स फुडको ५ सयको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

ट्राइब्रेकरमा धरान १३ का ईवाहाङ लिम्बु, दोर्जे तामाङ, रोमन लिम्बुले गोल गरे भने विवेक राई, सुशानत लोरोहाङको प्रहार आउट भयो।

आज अन्तिम सेमिफाइनल खेल धरान ११ र धरान १४ बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले २ लाख ५५५ र उपविजेताले १ लाख ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।