धरान : धरान वडा १० कार्यालयको सहयोगमा धरान पोजेटिभ समूहले बुधवार धरानका ४ एचआइभी सङ्क्रमित परिवारलाई राहत सामग्री सहित जीविकोपार्जनका लागि पुँजी रकम प्रदान गरेको छ ।

करिब २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहित जीविकोपार्जनका लागि प्रत्येक परिवारलाई बिउ पुँजी स्वरूप १०/१० हजार रुपैयाँ प्रदान गरिएको हो ।

सहयोग रकम र राहत सामग्री प्रमुख अतिथि वडाध्यक्ष विवेक राई, राष्ट्रिय एचआइभी एड्स प्रदेश संयोजक रोमन राईले प्रदान गरे ।

धरान वडा १० वडाले एचआइभी सङ्क्रमितहरूको हक हितका लागि छुट्ट्याइएको बजेट रकमबाट सङ्क्रमित परिवारलाई सहयोग प्रदान गरिएको धरान पोजेटिभ समूहका उपाध्यक्ष तारा क्षेत्रीले बताइन् ।

वडाले चालु आर्थिक वर्षमा एचआइभी एड्स सङ्क्रमित, प्रभावितहरूको हकहितका लागि १ लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष विवेक राईले बताए ।

सोही अवसरमा धरान पोजेटिभ समूहले वैशाख २५ गते एचआइभी एड्स तथा लागुऔषध सम्बन्धी सचेतना मूलक कार्यक्रम आयोजना गरिने राष्ट्रिय एचआइभी महासङ्घ प्रदेश संयोजक रोमन राईले जानकारी दिए ।

कार्यक्रम धरान १० वडा कार्यालयको सभाहलमा हुनेछ । कार्यक्रममा वडाका टिएलओ अध्यक्ष, सचिव, स्वास्थ्यकर्मी, युवा क्लबका पदाधिकारी लगायत सहभागी हुने बताइएको छ ।