इटहरी : कोशी प्रदेश खेलकुद विकाश बोर्डका सदस्य सचिव परशुराम बस्नेतले कार्यभार सम्हालेको भोलिपल्टै खेलाडीको सम्मानमा सहभागी हुने मौका पाए । कोशी फुटबल सङ्घले इटहरीमा आयोजना गरेको खेलाडी तथा अफिसियल सम्मान तथा स्वागत कार्यक्रममा उनले पहिलो आसन ग्रहण गरे । 

प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी भएका बस्नेतलाई खेलाडीको प्रश्नले झस्कायो । महिला फुटबल टिमकी क्याप्टेन खुस्मा राईले यसअघि खेलेको प्रतियोगिताको पारिश्रमिक कहिले आउँछ भन्दै प्रश्न गरिन् । सदस्य सचिव सँग खेलाडीको पारिश्रमिकको व्यवस्था गर्न उनको माग थियो । 

राईले पारिश्रमिकको विषय उठान गरिरहँदा उपस्थित सम्पूर्ण खेलाडीले गडगडाहट ताली बजाए । मञ्चका अतिथिहरू मुखामुख गरे पनि राईलाई खेलाडीले हौसला दिए । गत चैतमा बाग्मती प्रदेशले आयोजना गरेको अन्तर प्रदेश खेलकुद प्रतियोगितामा महिला र पुरुष दुवै तर्फ कोशी विजयी भएको थियो । कोशीबाट प्रतिनिधित्व गर्ने खेलाडीले हालसम्म पारिश्रमिक पाएका छैनन् ।

आयोजकले प्रत्येक खेलाडीलाई ५ हजारका दरले पैसा दिएपनि खेलकुद विकास समितिले पारिश्रमिक नदिएको उनीहरूको भनाइ छ। निर्वतमान सदस्य सचिव हंसराज वाग्लेले खेलाडीलाई सम्मान स्वरूप राम्रो पारिश्रमिक दिने बाचा गरेका थिए ।

तर उच्च अदालतको फैसलाले बस्नेत सदस्य सचिव भएपछि सो विषय सेलाइरहेको बेला खेलाडीले स्मरण गराएका हुन् । सोही प्रतियोगिताको जितेको दुई वटै ट्रफी भने सदस्य सचिवले ग्रहण गरेका छन् । प्रतियोगितामा कोशीले ५६ पदक पाएको थियो ।

शुक्रवार राष्ट्रिय महिला छनौट फुटबल प्रतियोगिताको विजेता बनेर फर्किएका महिला खेलाडीको सम्मानमा कार्यक्रम आयोजना गरिएको हो । वैशाख ३ गते सम्पन्न महिला छनौट लिगमा विजयी महिला टिम घर फर्किएका छन् । उनीहरूको सम्मानमा कोशी फुटबल सङ्घले जनही २ हजार प्रदान गरेको छ ।

कार्यक्रममा सम्बोधन गर्दै सदस्य सचिव बस्नेतले आफू खेलाडीको सारथिको रूपमा रहने प्रतिबद्धता जनाए । खेलकुदको विकासमा सरकार सहित निजी क्षेत्रको साथ जरुरी रहेको उनको भनाइ छ ।

खेलाडीले सेवासुबिधा पाएका छैनन् भन्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै उनले पारिश्रमिक पाउने कुरामा कुनै कसर बाँकी नराख्ने र खेलाडीलाई प्रोत्साहन गर्ने बाचा गरे । खेलाडीको चाहना र भावना अनुसार काम गर्ने र उत्कृष्ट खेलाडी उत्पादन गर्नेबाहेक कुनै स्वार्थ नरहेको उनले जोड दिए ।

सङ्घका अध्यक्ष किशोर राईले खेलाडीलाई प्रोत्साहन नगरे प्रतियोगिताको नतिजा निकाल्न नसकिने धारणा राखे । खेलाडीको जीविकोपार्जनको ग्यारेन्टी लिन सके मात्र फुटबलको संस्थागत विकाश गर्न सकिने उनको भनाइ थियो ।koshi-khelkud-2