वराहक्षेत्र : नेपाली काँग्रेसका केन्द्रीय सदस्य निवर्तमान कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले प्रचण्ड नेतृत्वको वर्तमान सङ्घीय सरकार सहकारी र एनजिओ ठगहरूको गठबन्धन भएको आरोप लगाएका छन् ।

शनिवार सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टिमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. ४ प्रदेश सभा १ प्रदेश कार्यसमिति आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा नववर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथि रहेका सुनुवारले उक्त आरोप लगाएका हुन् ।

सहकारी पीडितहरू राहत दिन तथा सहकारी ठगीको आरोपको विषयमा संसदीय समिति गठन गर्नुपर्ने नेपाली काँग्रेसको माग आजको आवश्यकता समेत भएको जिकिर गरेका उनले एमालेलाई एनजिओ ठगी गर्ने पार्टी र रास्वपा सहकारी ठगी गर्ने पार्टी भएको बताए । एनजिओ र सहकारी ठग गर्ने पार्टी रहेको यो प्रचण्ड नेतृत्वको सरकार आफै ढल्ने सुनुवारले दाबी गरे ।

कोसी प्रदेश सदस्य सदानन्द मण्डल, हाजी इस्राईल मन्सुरी, ममता तामाङ, नेपाली काँग्रेस सुनसरी क्षेत्र नं.४ का सभापति तथा कोसी गाउँपालिका अध्यक्ष एयुव अन्सारी, नेपाली काँग्रेस वराहक्षेत्र नगर सभापति तथा नगर प्रमुख रमेश कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली काँग्रेस सुनसरी क्षेत्र नं ४ प्रदेश सभा १ प्रदेश कार्यसमितिका कार्यवाहक सभापति मधुकर तामाङको सभाध्यक्षमा आयोजना भएको कार्यक्रममा स्वागत् मन्तव्य कोषाध्यक्ष दामोदर काफ्ले र कार्यक्रम सञ्चालक सचिव दीपक सिग्देलले गरेका थिए ।